काठमाडाैं। चालु आर्थिक बर्षको बैशाख महिनामा उपभोक्ता मुद्रास्फीति ७.४१ प्रतिशत रहेको छ ।
नेपाल राष्ट्र्र बैंकले सार्वजनिक गरेको तथ्याङ अनुसार अघिल्लो वर्षको यस महिनामा यस्तो मुद्रास्फीति ७.८७ प्रतिशत रहेको थियो ।
उक्त तथ्याङ अनुसार यस महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.५४ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८९ प्रतिशत रहेको छ ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसला उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २६.६१ प्रतिशत, रेष्टुरेण्ट तथा होटलको १४.८७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.६९ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.४१ प्रतिशत र सुर्तीजन्य पदार्थको ८.४९ प्रतिशतले बढेको छ ।
गैर-खाद्य तथा सेवा समूह अन्तर्गत मनोरञ्जन तथा संस्कृति उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १५.७५ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको १३.०८ प्रतिशत, शिक्षाको १०.५६ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ९.६५ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरुको ८.२७ प्रतिशतले बढेको राष्ट्र्र बैंकले जनाएको छ ।
समीक्षा महिनामा काठमाडौं उपत्यकामा ७.६८ प्रतिशत, तराईमा ७.१५ प्रतिशत, पहाडमा ७.५७ प्रतिशत र हिमालमा ७.१२ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७९ वैशाख महिनामा यी क्षेत्रहरुमा क्रमशः ७.३९ प्रतिशत, ८.१५ प्रतिशत, ७.८९ प्रतिशत र ८.२१ प्रतिशत मुद्रास्फीति रहेको थियो।
थोक मुद्रास्फीति
चालु आवको वैशाख महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ३.३१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १६.०६ प्रतिशत रहेको थियो। ।
समीक्षा महिनामा मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ७.०४ प्रतिशत र ४.३३ प्रतिशत रहेको छ भने उपभोग्य वस्तुको थोक मूल्य ३.१२ प्रतिशतले घटेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि २.६८ प्रतिशत रहेको छ ।