२०७९ माघ २१, शनिबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङ राष्ट्रिय वाणिज्य बैंक ५८औं वर्षमा प्रवेश

 राष्ट्रिय वाणिज्य बैंक ५८औं वर्षमा प्रवेश


काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक ५८ औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा बैंकले ‘आरबीबी डिजिटल संसार’ सेवासमेत शुरु गरेको छ ।

आज आयोजित वार्षिकोत्सव कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) किरणकुमार श्रेष्ठले अहिले नेपाली बैंकिङ क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंक सबल, सुदृढ र अग्रणी स्थानमा रहन सफल भएको बताए । त्यस्तै, बैंकले अधिकतम स्रोत परिचालन तथा व्यवसाय विस्तार, निष्क्रिय कर्जा व्यवस्थापन, रि-ब्रान्डिङ तथा प्रविधिमा सुधारलगायतमा काम गरेको उनको भनाइ छ ।

बैंकले विगतमा विभिन्न उतारचढाव भोगे पनि पछिल्ला वर्षमा वित्तीय सूचकाङ्क र व्यवस्थापनमा उल्लेख्य सुधार गर्न सफल भएको सीईओ श्रेष्ठले दाबी गरे । बैंकको वित्तीय अवस्था सुधारका लागि पाँच वर्षे रणनीतिक योजना तर्जुमा गरी व्यवस्थापन र मानव संशाधन अडिटलगायतका काम गरेको पनि उनले जानकारी दिए ।

एनआईडिसी डेभलपमेन्ट बैंकसँगको मर्जर, सहायक कम्पनीका रुपमा आरबीबी मर्चेन्ट सञ्चालन, नेपाल टेलिकमसँगको संयुक्त लगानीमा नेपाल डिजिटल पेमेन्ट कम्पनीको स्थापना र सञ्चालन बैंकको उपलब्धी रहेको श्रेष्ठको भनाइ छ ।

बैंकिङ गत आर्थिक वर्ष २०७८/७९ मा लगानीकर्तालाई १२ं.५ प्रतिशत लाभांश वितरण गरेको छ । बैंकको कुल चुक्ता पुँजी १५ अर्ब ६३ करोड छ भने देशका सबै जिल्लामा गरी २६५ वटा शाखा कार्यालय, २६९ वटा एटीएम, ५१ वटा एक्स्टेन्सन काउन्टरमार्फत् सेवा प्रवाह गरिरहेको छ ।

कुल ३८ लाख ६१ हजार ग्राहक संख्या भएको बैंकका एटीएम प्रयोगकर्ता ७ लाख पाँच हजार, मोबाइल बैकिङ प्रयोगकर्ता १५ लाख ७१ हजार, इन्टरनेट बैकिङ्ग प्रयोगकर्ता २० हजार ५०० र क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्ने प्रयोगकर्ताको संख्या २५ हजार ५०० रहेको कार्यक्रममा जानकारी दिइयो ।

चालू आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक अवधिसम्ममा बैंकको निक्षेप संकलन २ खर्ब ७२ अर्ब, कर्जा प्रवाह २ खर्ब ३४ अर्ब र नेटवर्थ ३४ अर्ब ३४ करोड पुगेको छ । बैंकको निष्क्रिय कर्जा २.७९ प्रतिशत, आधारदर ९.२९ प्रतिशत र कर्जा निक्षेप अनुपात ८१.६५ प्रतिशत छ ।

चालू आर्थिक वर्षको अन्त्यसम्ममा कुल निक्षेप ३ खर्ब, कुल कर्जा २ खर्ब ५८ अर्ब, मुनाफा ४ अर्ब ९७ करोड बनाउने बैंकको लक्ष्य छ । त्यस्तै शाखा संख्या ३००, ग्राहक संख्या ३९ लाख ७१ हजार पुर्याउने पनि बैंकको लक्ष्य छ ।


क्याटेगोरी : बैंकिङ
ट्याग : #राष्ट्रिय वाणिज्य बैंक


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ