कठमाडौं-चालु आर्थिक वर्ष २०७९/८० को पछिल्लो ९ महिनामा नेपालमा विभिन्न देशबाट ९ खर्ब ३ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले आज जारी गरेको तथ्याङ्क अनुसार चालु आवको तेस्रो त्रैमाससम्ममा नेपाल कुल ९ खर्ब ३ अर्ब ३९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष नेपाल भित्रने रेमिट्यान्स २४.२ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स ०.२ प्रतिशतले घटेको थियो ।
पछिल्लो ९ महिनामा अमेरिकी डलरमा रेमिट्यान्स १३.९ प्रतिशतले वृद्धि भई ६ अर्ब ९२ करोड डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो रेमिट्यान्स १.८ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या ५१.५ प्रतिशतले वृद्धि भई ३ लाख ८७ हजार ८३९ पुगेको छ ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ५.५ प्रतिशतले वृद्धि भई २ लाख १७ हजार ९५९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १९९.९ प्रतिशतले बढेको थियो।
समीक्षा अवधिमा खुद ट्रान्सफर २२.८ प्रतिशतले वृद्धि भई ९ खर्ब ९६ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ०.४ प्रतिशतले घटेको थियो।