२०८१ असोज १४, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रप्राधिकरणले हिउँदमा भारतबाट १५ अर्बको बिजुली किन्यो

प्राधिकरणले हिउँदमा भारतबाट १५ अर्बको बिजुली किन्यो


काठमाडौं– नेपाल विद्युत प्राधिकरणले यस वर्षको हिउँदयाममा देशभित्रको विद्युत् माग धान्न १५ अर्ब २१ करोड रुपैयाँको विद्युत् भारतबाट आयात गरेको छ । शुख्खायाम सुरु भएसँग खोला तथा नदीहरुमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत्गृहहरुबाट विद्युत् उत्पादन घट्ने हुँदा माग धान्न भारतबाट विद्युत् आयात गरिएको हो । यस अवधिमा १ अर्ब ८१ करोड ४८ लाख युनिट विद्युत् आयात गरिएको छ ।

प्राधिकरणले गत वर्षको जेठदेखि यसवर्षको हालसम्म १५ अर्ब ६२ करोड रुपैयाँको विद्युत् भारतर्फ निर्यात गरेको छ । चालु आर्थिक वर्ष २०८०/८१को साउनदेखि हालसम्म १३ अर्ब ४७ करोड रुपैयाँको विद्युत् निर्यात गरिएको छ । प्राधिकरणले चालु आर्थिक वर्षमा निर्यातभन्दा १ अर्ब ७४ करोड रुपैयाँको बढी विद्युत् आयात गरेको हो । यस अवधिमा १ अर्ब ४९ करोड २९ लाख युनिट विद्युत् निर्यात गरिएको हो ।

आयात गरिएको विद्युत्को मूल्य निर्यात गरिएकोभन्दा सस्तो रहेको छ । निर्यात गरिएको विद्युत्को प्रतियुनिट औसत मूल्य ९ रुपैयाँ २ पैसा रहेको छ भने आयातको प्रतियुनिट औसत मूल्य ८ रुपैयाँ ३८ पैसा रहेको छ ।  प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जेठको बाँकी समय र असार महिनामा निर्यात हुने विद्युत् परिणामबाट चालू आर्थिक वर्ष (आव)मा आयातभन्दा निर्यात बढी भई खूद निर्यातकर्ता बन्ने अवस्था देखिएको बताए ।

‘६/७ वर्षअघिसम्म विद्युत्को आयातकर्ताको मात्र अवस्था थियो, २/३ वर्षअघिबाट विद्युत्को निर्यात सुरु गरेतापनि निर्यातभन्दा आयात बढी भई खूद आयातकर्ता बन्ने अवस्था थियो भने अब यस वर्षबाट खूद आयातकर्ताबाट निर्यातकर्ता बन्ने अवस्था देखिएको छ’, कार्यकारी निर्देशक घिसिङले भने । ‘चालू आवमा निर्यातभन्दा आयात १ अर्ब ७४ करोड रुपैयाँले बढी देखिएको छ, आवको बाँकी अवधिमा निर्यात हुने विद्युत्को परिणामले यो ग्यापलाई पूरा गरी खूद निर्यातकर्ताका रुपमा रहने छौं ।’


क्याटेगोरी : अर्थतन्त्र



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ