काठमाडौं । चालु नयाँ आर्थिक वर्ष २०८०/०८१को पहिलो १० दिनमा सरकारले १४ अर्ब ५५ करोड २३ लाख आम्दनी गरेको छ भने १२ अर्ब ६४ करोड ६४ लाख रुपैयाँ खर्चे गरेको छ ।
महालेखा नियन्त्रक कार्यालयको तथ्याङ अनुसार सरकारकाे नयाँ आर्थिक बर्षको पहिलो १० दिनमा राजस्व सङ्कलन तर्फ कर राजस्वतर्फ १० अर्ब २५ करोड १७ लाख रुपैयाँ र गैर कर राजस्वतर्फ ७१ करोड ४७ लाख रुपैयाँ आम्दनी रहेको छ ।
त्यस्तै,सरकारले अन्य आम्दानीबाट ३ अर्ब ५८ करोड ५९ लाख रुपैयाँ आर्जन गरेको छ ।
चालु आर्थिक वर्षका लागि कूल १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख रुपैयाँ आन्तरिक राजस्व उठाउने र ४९ अर्ब ९४ करोड ३० लाख रुपैयाँ अनुदान लिने सरकारको लक्ष्य रहेको छ ।
चालु आवका लागि सरकारले कूल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।
त्यस्तै चालु शीर्षकमा विनियोजित कूल ९ खर्ब १९ अर्ब ३३ करोड ५६ लाख बजेटमध्ये हालसम्म ०.०६ प्रतिशत खर्च भएको छ । जुन ५३ करोड ६४ लाख रुपैयाँ बराबर हो ।
सरकारको पुँजीगत खर्च अझै सुरु भएको छैन । सरकारले चालु आर्थिक वर्षका लागि पुँजीगत शीर्षकमा ४ खर्ब ७१ अर्ब ६ करोड १९ लाख बजाबर बजेट छुट्याएको छ ।
वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ३० अर्ब ९१ करोड ७ लाख बजेट छुट्याइएकामा चालु आर्थिक बर्ष पछिल्लो १० दिनमा १२ अर्ब ११ करोड रुपैयाँ बराबर खर्च भएको छ । जुन खर्च वित्तीय व्यवस्था शीर्षकमा विनियोजित बजेटको ३.६६ प्रतिशत बराबर हो ।
।