काठमाडौ — वार्षिक ६० लाख रुपैयाँ करयोग्य आम्दानी छ भने अब तपाईंले सरकारलाई १८ लाख ५५ हजार कर तिर्नुपर्ने छ ।
आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत आयकरको स्ल्याब’ मा परिवर्तन गर्दै सरकारले यस्तो व्यवस्था गरेको हो । बजेटमा गरिएको व्यवस्था अनुसार आयकर ऐनमा संशोधन गर्दै सरकारले ६० लाख रुपैयाँ करयोग्य आयमा एकल व्यक्तिको हकमा सो व्यवस्था गरेको हो ।
दम्पतीको हकमा भने उक्त बराबरको आयमा १८ लाख २६ हजार रुपियाँ तिर्नुपर्ने छ । संशोधित आयकरको व्यवस्थामा मुख्य गरी आयका २ वटा स्ल्याबमा परिवर्तन गरिएको छ ।
बाँकी स्ल्याबमा भने चालु आवकै व्यवस्था निरन्तर गरिएको छ । पुरानै निरन्तरता पाएकामा ५ लाखसम्मको करयोग्य आयमा एकल व्यक्ति १ प्रतिशत अर्थात् ५ हजार रुपैयाँ र दम्पतीको हकमा ६ लाख रुपैयाँ सम्मको आम्दानीमा समान १ प्रतिशत अर्थात् ६ लाख रुपैयाँ आयकर तिर्नुपर्ने व्यवस्था छ ।
त्यस्तै ५ लाखभन्दा बढी सात लाखसम्म वार्षिक आम्दानी गर्ने एकल व्यक्तिको १० प्रतिशत अर्थात् २० हजार रुपैयाँ र ६ लाखभन्दा बढी ८ लाखसम्म आम्दानी गर्ने दम्पतीको १० प्रतिशत अर्थात् अधिकतम २० हजार रुपैयाँ कर थप हुने छ । ७ लाखभन्दा बढी १० लाखसम्मको आम्दानी गर्ने एकल व्यक्तिले २० प्रतिशत अर्थात् अधिकतम ६० हजार रुपैयाँ कर थप गरेर तिर्नुपर्ने छ । ८ लाखभन्दा बढी ११ लाखसम्मको आम्दानीमा २० प्रतिशत अर्थात् अधिकतम ६० हजार रुपैयाँ कर थप गर्नुपर्ने छ ।
१० लाखभन्दा बढी २० लाखसम्मको आम्दानीमा एकल व्यक्तिले ३० प्रतिशत अर्थात् अधिकतम तीन लाख र ११ लाखभन्दा बढी २० लाखसम्म आम्दानी गर्ने दम्पतीको हकमा ३० प्रतिशत अर्थात् अधिकतम २ लाख ७० हजार रुपैयाँ थप कर तिर्नुपर्ने छ ।
करको यी व्यवस्था चालु आवकै निरन्तरता हुन् । आगामी आर्थिक वर्षदेखि लागु हुने गरी २ वटा करको स्ल्याब थप गरिएको छ ।
जसमध्ये २० लाखभन्दा ५० लाखसम्मको आम्दानीमा एकल व्यक्ति तथा दम्पतीले अधिकतम ३६ प्रतिशत अर्थात् अधिकतम १० लाख ८० हजार रुपैयाँ कर थप गरेर तिर्नुपर्ने छ ।
चालु आर्थिक वर्षमा २० लाखभन्दा बढी जुनसुकै भए पनि ३६ प्रतिशत कर बुझाउनुपर्ने व्यवस्था भए पनि सरकारले यसमा ५० लाख रुपैयाँसम्मको आम्दानी तोकेर अर्को स्ल्याब बनाएको हो ।
५० लाखभन्दा माथि जतिसुकै करयोग्य आय भएमा कुल ३९ प्रतिशत अर्थात् ३ लाख ९० हजार थप कर तिर्नुपर्ने छ । यसरी ३९ प्रतिशत करको दर निर्धारण गर्दा ३० प्रतिशत आयकर लाग्ने स्ल्याब अनुसार निर्धारण हुने करमा थप ३० प्रतिशत थप गरेर निर्धारण गरिएको छ । आयकरको यो संशोधन आगामी आव अर्थात् साउनदेखि लागु हुने छ ।
आजको गोरखापत्रमा प्रकाशित समाचारको साभार