काठमाडौंं । अप्पर लोहरेखोला हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि साउन १८ गते देखि आईपीओ जारी गर्ने भएको छ ।
कम्पनीको चुक्तापुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९ प्रतिशत अर्थात १९ लाख ८८ हजार २३६ कित्ता सेयर सर्वसाधारणको लागी छुट्याएको थियो । जसमघ्ये १० प्रतिशत अर्थात् १ लाख ९८ हजार ८२४ कित्ता श्रम स्वीकृत गरि वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि साधारण सेयर जारी गरिसकेको छ ।
त्यस्तै, कम्पनीले ५ प्रतिशत अर्थात् ९९ हजार ४१२ कित्ता सामुहिक लगानी कोषका लागि, २ प्रतिशतले हुन आउने ३९ हजार ७६५ कित्ता शेयर कम्पनीमा कार्यगत कर्मचारीका लागि छुट्याइएको छ ।
बाँकी रहेको १९ लाख ५३ हजार २७५ कित्ता शेयर सर्वसाधारणका (स्थानिय बासिन्दाका सेयर खरिद आवेदन नपरेको सेयर कित्ता सहित) लागि निष्काशन गर्ने लागेको हो ।
सर्वसाधारण आवेदनकर्ताले अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँका दरले न्युनतम १० कित्ता देखि २५ हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन् ।
आवदेनकर्ताले साउन २२ गतेसम्ममा यसमा आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन ३२ गतेसम्म आवेदन दिन सक्नेछन ।
त्यस्तै, आवेदनकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।
साधारण सेयर निष्कासनका लागि कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एन आईसी एशिया क्यापिटल रहेको छ ।
अप्पर लोहरेखोला हाइड्रोपावरलाई जेठ २३ गते साधारण सेयर निष्कासनको अनुमति दिएकोे थियो ।