काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को ४ महिनामै वाणिज्य बैंकहरूले २० अर्ब भन्दा बढी खुद नाफा आर्जन गरेका छन् ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ को पछिल्लाे ४ महिनामा वाणिज्य बैंकहरू २० अर्ब ७३ करोड रुपैयाँ बराबरको नाफा आर्जन गरेका छन् ।
राष्ट्र बैंकको तथ्यांक अनुसार यस अवधिमा सञ्चालनमा आएका २० वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी खुद नाफा कमाउनेमा नबिल बैंक रहेको छ । यस अवधिमा सरकारी स्वामित्वको कृषि विकास बैंक भने २७ करोड ८८ लाख रुपैयाँ घाटा व्यहोरेको छ ।
नबिलले यस अवधिमा २ अर्ब १६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यस्तै नाफा बढी अर्जन गर्नेमा दोस्रोमा ग्लोबल आईएमई बैंक रहेको छ । ग्लोबल आईएमई बैंकले चालु आवकाे साउन देखि कात्तिक महिना सम्ममा १ अर्ब ९४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
तेस्रोमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ८६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । १ अर्ब ५३ करोड ६५ रुपैयाँ खुद नाफा कमाउदै प्राइम कमर्सियल चौथो स्थानमा रह्यो । १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको हिमालयन बैंक पाँचौँ स्थान रहेको छ ।
त्यस्तै, एनआईसी एशिया बैंकले १ अर्ब ३७ करोड, एनएमबी बैंकले १ अर्ब २३ करोड, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब २० करोड, एभरेष्ट बैंकले १ अर्ब ८ करोड, प्रभु बैंकले १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
केन्द्रिय बैकले सार्वजनिक गरेको तथ्यांक अनुसार स्ट्यान्डर्ड चार्टर्डले ९८ करोड १९ लाख, कुमारी बैंकले ८८ करोड ८० लाख, सानिमा बैंकले ७७ करोड ७८ लाख, माछापुच्छ्रे बैंकले ६७ करोड १५ लाख, नेपाल बैंकले ६६ करोड ८१ लाख, नेपाल एसबीआई बैंकले ६० करोड ५६ लाख, सिटिजन्स बैकले ५८ करोड २४ लाख, लक्ष्मी सनराइजले ५१ करोड ५९ लाख र सिद्धार्थ बैकले ३३ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।