काठमाडौं – आर्थिक वर्ष २०७९/८० मा नेपालको आयात र निर्यात दुवै घटेको छ ।
वैदेशिक व्यापार सम्बन्धी भन्सार विभागले आज सार्वजनिक गरेको तथ्याङ्क अनुुसार आर्थिक बर्ष २०७९/०८०मा नेपालले अन्य देशबाट १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख ७० हजार रुपैयाँको वस्तु आयात गरेको छ भने १ खर्ब ५७ अर्ब १४ करोड ६ लाख ९५ हजार रुपैयाँ बराबरको वस्तु विभिन्न देशमा निर्यात गरेको छ ।
यस अवधिमा आयात १६.०८ प्रतिशत र निर्यात २१ .४४ प्रतिशतले घटेकाे हो ।
आर्थिक वर्ष २०७९/८० मा नेपालको व्यापार घाटा १४ खर्ब ५४ अर्ब ५९ करोड १० लाख ७४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा नेपालले १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख बराबरको व्यापार घाटा व्यहोरेको थियो ।
आघिल्लो बर्षको तुलनामा व्यापार घाटा १५.४५ प्रतिशतले घटेको विभागले जनाएको छ ।
भन्सार विभागकाे तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९/८० मा नेपालको कुल वैदेशिक व्यापार १७ खर्ब ६८ अर्ब ८७ करोड २४ हजार रुपैयाँ रहेको छ । आर्थिक बर्ष २०७८/०७९ मा नेपालको कुल वैदेशिक व्यापार २१ खर्ब २० अर्ब ४७ करोड ९३ हजार रुपैयाँ बराबर रहेको थियो । यो १६.५८ प्रतिशतले कमी आएको हो ।
गत आर्थिक वर्ष नेपालले गरेको कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९१.१२ प्रतिशत र निर्यातको हिस्सा ८.८८ प्रतिशत बराबर छ ।