२०८१ माघ १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठविचारशिवरात्रिको महत्व र इतिहास

शिवरात्रिको महत्व र इतिहास


महाशिवरात्रि हिन्दुहरूको प्रमुख चाड हो । महाशिवरात्रि  भगवान शिव र आद्यशक्तिको आराधना गर्ने मुख्य पर्व हो । भगवान शिवका गणहरू नाग, नन्दी, भृंगी, चौसठ्ठी योगिनी, क्षेत्रपाल, वेताल, महाकाली, वीरभद्र आदिको आह्वान पूजा गरेर महाशिवरात्रि पर्व मनाइन्छ । महाशिवरात्रि पर्व देशभरका शिवालयमा भगवान शिवको पूजा अर्चना र रुद्राभिषेक गरी मनाइन्छ । शिवको पूजा रात्रिको समयमा गरिन्छ । जवकि दिनमा पनि व्रत, उपवास गरेर रात्रिकालीन समय भगवान शिवको पूजा गर्ने विधान छ । भगवान शंकर सत्व, रज तथा तम तीनै गुणभन्दा माथि मानिएकोले संहार शक्तिका अधिष्ठातृ देवता हुन । त्यसैले अन्धकारयुक्त रात्रि शंकरजीलाई प्रिय लाग्नु स्वाभाविक देखिन्छ । यो हिन्दू धर्मावलम्विहरूका लागि प्रमुख पर्व मानिन्छ । शिवलाई वैदिक दर्शनले महान् आत्मा मानेको छ । शिव चिन्तन भन्नु अन्तरदेखि देखिने साक्षात्कार दृश्य झल्झली देखिनु हो । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा उल्लेख छ ।  विभिन्न नामले पुकारिने शिव प्रादुर्भाव भएको दिनका रुपमा शिवरात्रि मनाउने परम्परा चलिआएको हो ।

वैदिक मन्त्रहरुमा रुद्र, श्रीपशुपति महाशिव, महादेव, आशुतोश, अघोर, सद्योजात, वामदेव, तत्पुरुष, ईसान रुद्र आदि नामहरुबाट चारै वेदका ऋचाहरुमा भगवान् शिवको स्तुति गरिएको छ । वैदिककालीन सभ्यता नक्षत्र कालगणना अनुसार तीस  हजार वर्षभन्दा पनि पूर्व अन्वेषकहरुले मानेका छन् । ज्योतिषशास्त्रअनुसार फाल्गुण कृष्ण त्रयोदशी र चतुर्दशीको सन्धि रात्रि ‘महाशिवरात्रि’ हो । यसकारण क्षयपूर्ण तिथि अमावश्याको अन्धकारको दुष्प्रभावबाट बच्नका साथै मानव जीवनमा ज्योति, शान्ति, समृद्धिका लागि एक दिन पहिले अर्थात् त्रयोदशीको रात्रिमा शिवजीको उपासना गर्ने परम्परा राखिएको हो । हरेक महिनाको त्रयोदशीको रात्रिलाई महाशिवरात्रि मानिदैन तर शिवको आराधना गर्ने रात्रि भने मानिन्छ । भाद्रकृष्ण अष्टमी अर्थात् श्रीकृष्ण जन्माष्टमीलाई मोहरात्रि, असोज शुक्ल अष्टमी र नवमीको रातको सन्धिलाई कालरात्रि तथा तिहारको लक्ष्मीपूजाको रात्रिलाई सुखरात्रिका रुपमा मनाउने परम्परा हिन्दू धर्मावलम्बीमा छ । फागुन कृष्ण चतुर्दशीका मध्यरातमा महाशिवरात्रि पर्व मनाउने शास्त्रीय विधान रहेको छ । वैदिक सनातन धर्मावलम्बीले वर्षमा मनाउने चारवटा रात्रिमध्ये शिवरात्रि पनि एक हो । शिवले अवतार लिएको रातलाई नै शिवरात्रि भन्ने गरिएको विश्वास गरिन्छ ।

महाशिवरात्रिका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन, दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ । व्रत उत्सव मध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी ऊँ नमः शिवाय मन्त्र जप्ने गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रिको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् । शिवरात्रि पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्राप्ति हुन्छ भनिएको छ । भगवान् शिवका दृश्य जगत्मा पाँच मुख छन्, अघोर, सद्योजात, वामदेव, तत्पुरुष, इशान रुद्र यी हुन पशुपतिनाथका पाँच स्वरुप पृथ्वी, जल, तेज, वायु, आकाश चराचर जगत, पाँच तत्व र मन, बुद्धि, चित्त, अहंकार, ऊर्जा, चेतना यही नै पशुपतिनाथको स्वरुप हो ।

संसारमा तीन प्रकारका शक्तिहरूले विशेष काम गरेका हुन्छन् । पहिलो शक्ति सृष्टि, दोस्रो पालन र तेस्रो संहार । शिवको हातमा रहेको त्रिशूलले तीन प्रकारका ताप (आधिभौतिक, आध्यात्मिक र आधिदैविक) को समन गर्दछ । सृष्टिको आदिधर्म भगवान् शिवबाट प्रतिपादित हुन्छ । आदिशास्त्र पनि त्रिशूल नै हो । त्रिशूल, वज्र, डमरु, पाश भगवान् शिवका आयुध हुन् ।

यस दिन शिवभक्तहरू शिव मन्दिरहरूमा गएर शिवलिंगमा बेल-पत्र आदि चढाउने, पूजन गर्ने, उपवास बस्ने तथा राती जागरण वस्ने गर्छन् । शिवलिंगमा बेल-पत्र चढाउनु, उपवास तथा रात्रि जागरण वस्ने गर्नु जस्ता विशेष कर्म यस पर्वमा हुने गर्दछ । यस दिन शिवको विवाह भएको थियो भन्ने धार्मिक मान्यता रहेको छ । त्यसैले राती शिवजीको जन्ती निकालेर उत्सव गर्ने चलन पनि छ । वास्तवमा शिवरात्रिको परम पर्व स्वयं परमपिता परमात्माले सृष्टिमा अवतरित भएको स्मृति पर्व हो । यहाँ रात्रि शब्दले अज्ञान एवं अन्धकारबाट हुने नैतिक पतनको द्योतन गर्छ । परमात्मा नै ज्ञानको सागर हो जसले मानव मात्रलाई सत्य ज्ञानद्वारा अन्धकारबाट प्रकाश तर्फ अथवा असत्यबाट सत्य तर्फ लैजान्छ । ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र, स्त्री-पुरुष, बालक, युवा र वृद्ध सबै यस व्रतको पालन गर्न योग्य मानिन्छन् । यस व्रतको विधानमा सवेरै नुहायर शुध्द भइ उपवास गर्ने गरिन्छ । हिन्दूहरुले विभिन्न शिव मन्दिरहरुमा रहेका आफ्ना आराध्य देवाधिदेव महादेवको आराधना, भजन किर्तन, पूजा, होम रातभर जाग्राम बसेर महाशिवरात्रि पर्व मनाउने गरिन्छ।

प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशीको रातलाई शिवरात्रि भनी श्री शिवको ज्योतिर्लिङ्ग उत्पन्न भएको रातको रुपमा मनाउने हिन्दूहरुको परम्परा छ । यस रातलाई उनीहरु मानवआत्माले मोक्ष प्राप्त गरेको रातको रुपमा लिने गर्दछन् । मनिसहरुले जानेर वा नजानेर शिवरात्रिको ब्रतसम्पन्न गरेमा पनि मुक्ति प्रदान गर्दछ भनेर पुराणमा वर्णन गरेको पाइँछ । ईशान संहितामा वणिर्त भएअनुसार शिवरात्रिको ब्रत सबै मानिसहरु बस्न सकिन्छ र यहांसम्म की यस दिन ब्रत बसेका कारणले चाण्डालपर्यंतलाई पापमुक्त गरी आनन्द र मुक्त प्रदान गरेको भन्ने उल्लेख भएको पाइन्छ । भगवान शिवको उत्पत्ति फाल्गुन कृष्णचतुर्दशी कै दिनमा भएको हो । महाप्रलयहुंदा जसै सम्पूर्ण पदार्थ विनष्ट भएको थियो । भगवान शंकरले ताण्डवनृत्य गर्नुका साथै आफ्ना डमरुको निनादले सम्पूर्ण वायुमण्डलमा ज्ञान-विज्ञानलाई सूक्ष्म सूत्ररुपले ब्याप्त गरेका थिए भनिन्छ, त्यस वेलादेखि नै महाशिवरात्रिको महात्म्य आजसम्म सुरक्षित चल्दै आएको विश्वास गरिएको छ ।

यस दिन माटोको भाँडोमा पानी भरेर, त्यसमाथि बेलपत्र, आँक, धतूरोको फुल, चामल आदि हालेर ‘शिवलिङ्ग’मा अर्पण गरिन्छ। यदि नजीकमा शिवालय छैन भने, शुद्ध गिलो माटोबाटै शिवलिंग बनाएर त्यसलाई पूजा गर्ने विधान छ। राती जागरण बसेर शिवपुराणको पाठ र कथा सुन्नु प्रत्येक व्रतालुको धर्म मानिन्छ। व्रतको भोलिपल्ट बिहान सवेरै जौ, तिल, खीर र बेलपत्रको हवन गरेर व्रत समाप्त गरिन्छ। यो आफ्नो आत्मालाई पुनीत बनाउने महाव्रत हो। यो व्रतको पालना गरेर सबै पापहरूको नाश हुन्छ भन्ने किंमदन्ति रहेको छ । नेपालमा विशेष गरी महाशिवरात्रिका दिन पशुपतिनाथ मन्दिरका चार वटै ढोका दर्शनार्थीहरुका लागि बिहानैदेखि खुल्ला हुने गर्दछ । नेपाली जनजीवनमा शिवरात्रि पर्व लोकप्रीय भएको पूर्व मध्यकालदेखि हो भन्ने गरिन्छ । साथै श्रीपशुपतिनाथ सहित विश्वभरिका ज्योतिर्लिङ्ग एवम् शिव मन्दिरमा विश्वभरिका शिव मन्दिरहरुमा धुमधामका साथ महाशिवरात्रि पर्व मनाइन्छ ।

आनादि कालदेखि नै अस्तित्वमा रहँदै आएको विश्वास गरिने पशुपतिनाथको मन्दिर ईशाको पहिलो वा दोस्रो शताब्दीतिर सुपुष्प देव राजाको पालामा स्थापित भएको मानिन्छ। पशुपतिनाथको मन्दिरमा महाशिवरात्रि पर्व मनाउने प्रचलन र परम्परा पनि त्यति नै पुरानो हुनसक्ने जानकारहरू बताउँछन्। यस महाशिवरात्रि पर्वमा विशेष गरी पशुपतिनाथमा ठुलो मात्रामा श्रध्दालु भक्तजनहरूको भिड लाग्ने गर्दछ । सो दिन शिवालयहरूमा विहान देखि नै भक्तजनहरूको भिड लाग्ने गर्दछ। बुटवलको सिद्धबाबामा, पाल्पाको पर्भासमा, गुल्मीको रेसुङ्गामा, पर्रोहा परमेश्वर बोलबमधाममा, ललितपुरको सन्तानेश्वरमा, काभ्रेको साँगामा, प्यूठानको स्वर्गद्वारीमा, उपत्यकामा पशुपतिनाथ, कुम्भेश्वरमा, भक्तपुरको डोलेश्वर महादेव लगायत नेपालका शिवालयहरूमा उक्तदिन निकै मात्रामा भक्तजनको भिडहुने र महादेवलाई नैवद्य, पञ्चामृत, फलफूल चढाई पुजा गरी मन्दिर अगाडि विहानैदेखि धुनी जगाई भक्तजनहरू मनोरञ्जन पनि गर्दछन् । यसरी मानिसहरूको ब्यापक रूपमा आवत जावत र घुमफिर हुने हुदा यसबाट लाभ लिने अवसर पनि हो । महाशिवरात्रि पर्वबाट नेपालले मूलत केहि लाभ लिन सक्ने देखिन्छ।

 

आर्थिक फाइदा

पशुपतिनाथको मन्दिरमा ओइरिने तीर्थयात्री तथा अन्य पर्यटकहरूले नेपालभित्र प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पैसा भित्र्याइरहेका हुन्छन्। उनीहरूको बढ्दो संख्याले देशको पर्यटन उद्योगलाई आर्थिक फाइदा पुर्‍याउने नै भयो। तीर्थालु तथा पर्यटकहरूले पशुपतिनाथको मन्दिरमा पनि भेटीघाटी, दान दक्षिणा, दस्तुर वा अन्य स्वरूपमा आर्थिक फाइदा पुर्‍याइरहेका हुन्छन्। विगतका अनुभवलार्इ लिएर यस वर्ष पनि शिवरात्रिको अवसरमा करिब दश लाख भन्दा बढी तीर्थालुहरू पशुपतिनाथ पुग्ने अनुमान गरिएको छ। छिमेकी भारत, मलेशिया, इन्डोनेशिया, मरिसस अन्य देशबाट आएकाहरूले पशुपतिनाथमा वर्षेनी करोडौँ रूपैयाँ नगद र सुनचाँदी जस्ता बहुमूल्य धातु भक्तजनहरूले चढाउने गर्दछन्। यस बर्ष कोभिड१९ का कारण पशुपतिनाथ आउने विदेशी यात्रीको केहि कमी हुन सक्छ ।  पशुपतिनाथ आउने यात्री नेपालका अन्य मठमन्दिरमा पनि आकर्षित हुने गरेका छन् । उनीहरूको नेपाल बसाइ लम्ब्याउन सकिन्छ, जसबाट नेपालले अर्थोपार्जन गर्न सकिन्छ । त्यसको लागि हामीले नेपालमा यातायात र मन्दिर क्षेत्रमा अन्य सेवा सुविधा विस्तार गर्न सकेमा बसाइ अझै बढ्न सक्छ । देशको आम्दानीको अन्य श्रोत बन्न सक्छ । तर पशुपतिनाथमा वर्षेनी करोडौँ रूपैयाँ नगद र सुनचाँदी जस्ता बहुमूल्य धातु भक्तजनहरूले चढाउने गरेको पाइन्छ । यो पनि महत्वपूर्ण आम्दानीको श्रोत हुन सक्छ ।

आध्यात्मिक फाइदा

धेरै हिन्दूहरूका लागि जीवनमा एक पटक नपुगी नहुने तीर्थस्थल पशुपतिनाथ हो । थुप्रै भारतीय हिन्दूहरू भारतमा मुख्य तीर्थहरू पुगिसकेपछि अनिवार्य रूपमा पशुपतिनाथको दर्शन गर्ने गर्दछन्। पशुपतिनाथ धेरै हिन्दूहरूका लागि जीवनमा एक पटक नपुगी नहुने तीर्थस्थल हो। थुप्रै भारतीय हिन्दूहरू भारतमा मुख्य तीर्थहरू पुगिसकेपछि अनिवार्य रूपमा पशुपतिनाथको दर्शन गर्ने गर्दछन् । पशुपतिनाथको दर्शन गर्ने तीर्थालुहरूलाई मानवमा अन्तरनिहित पशुको जस्तो गुणबाट मुक्त हुन सहयोग पुग्दछ। पशुपतिनाथमा पूजा र दर्शन गर्नाले धेरै लाभ मिल्ने हिन्दू धर्मावलम्बीको विश्वास रहँदै आएको छ। विश्वभरिका मानिसहरू अहिले आध्यात्मिक ज्ञानको खोजीमा लागिरहेका छन् । महाशिवरात्रि पर्व मार्फत् पशुपतिनाथलाई विश्वको आध्यात्मिक केन्द्रको रूपमा विकास गर्न सकिने प्रचुर सम्भावना छ। धेरै मानिसहरूलाई पशुपतिनाथको दर्शन र भ्रमण गर्न आकर्षित गर्न सक्ने ठाउँ छ। पशुपतिनाथको दर्शन गर्ने तीर्थालुहरूलाई मानवमा अन्तरनिहित पशुको जस्तो गुणबाट मुक्त हुन सहयोग पुग्दछ। पशुपतिनाथमा पूजा र दर्शन गर्नाले धेरै लाभ मिल्ने हिन्दू धर्मावलम्बीको विश्वास रहँदै आएको छ। विश्वभरिका मानिसहरू अहिले आध्यात्मिक ज्ञानको खोजीमा लागिरहेका छन्। महाशिवरात्रि पर्व मार्फत् पशुपतिनाथलाई विश्वको आध्यात्मिक केन्द्रको रूपमा विकास गर्न सकिने प्रचुर सम्भावना छ। धेरै मानिसहरूलाई पशुपतिनाथको दर्शन र भ्रमण गर्न आकर्षित गर्न सक्ने ठाउँ छ। यसैले नेपालले आध्यात्मिक फार्इदा लिन सक्छ

सांस्कृतिक फाइदा

आर्थिक र आध्यात्मिक लाभसँगै महाशिवरात्रि पर्वसँग पशुपति क्षेत्रको मात्र नभई नेपालको धार्मिक र सांस्कृतिक पक्ष पनि गाँसिएको छ। युनेस्कोको विश्व सम्पदा सूचिमा रहेको हुनाले पशुपति क्षेत्र विश्वसामु परिचित रहेको छ। महाशिवरात्री पर्वसँग पशुपति क्षेत्रको मात्र नभई नेपालको धार्मिक र सांस्कृतिक पक्ष पनि गाँसिएको छ । वाग्मती नदी किनारमा अवस्थित पाशुपत क्षेत्रमा प्राकृतिक एवं सांस्कृतिक विविधिताहरू देख्न सकिन्छ। पशुपतिनाथको भ्रमणमा आउने तीर्थालु वा पर्यटकहरूले पशुपति क्षेत्रका तिनै विविधता हेर्न र तिनमा भिज्न सक्दछन् । विदेशी तीर्थालु र पर्यटकको आगमनले सांस्कृतिक आदानप्रदानमा सहयोग पुग्न सक्छ । धेरैभन्दा धेरै भारतीय र अन्य छिमेकी देशका तीर्थालु पशुपति क्षेत्रमा आकर्षित गर्न सकियो भने देश देशबीचको सम्बन्ध सुधारमा पनि सहयोग पुग्दछ ।

धार्मिक पर्यटन फाइदा

महाशिवरात्रि पर्व मार्फत् पशुपतिनाथलाई विश्वको महत्वपूर्ण धार्मिक केन्द्रको रूपमा विकास गर्न सकिने प्रचुर सम्भावना छ । धार्मिक पर्यटनलाई बढावा दिँदै स्थानीय, क्षेत्रिय, राष्ट्रिय एवं अन्ताराष्ट्रिय महत्त्वका धार्मिक, साँस्कृतिक, पुरातात्त्विक सम्पदाहरूलाई प्रवर्ध्दन गर्दै तीर्थयात्री एवं पर्यटकहरूलाई आकर्षित तुल्याउन सक्ने प्रवल संभावना रहेको छ । जसले गर्दा नेपालले धार्मिक पर्यटनको क्षेत्रबाट लाभान्वित बन्न सक्ने प्रचूर सम्भावना छ। भारतीय तीर्थालुहरूको संख्या बढिरहेको र अन्य मित्र राष्ट्रहरूबाट पनि त्यत्तिकै मात्रामा तीर्थालु आउने क्रम बढ्दो छ । तर भारतीय तीर्थालु आउने क्रम महाशिवरात्रि पर्वमा मात्र सीमित छैनन्। उनीहरू वर्षैभरि पशुपतिनाथको भ्रमणमा आउने गर्छन्। यसैले धार्मिक पर्यटनका माध्यमबाट नेपालको पहिचान हुन सक्ने प्रचुर संभावना रहेको छ ।

महाशिवरात्रिको दिनलार्इ गाँजाभाङ, जाडरक्सी खाने दिनका रूपमा पनि केहि गलत सोच पनि देखिन्छ, जुन अत्यन्त गलत सोचार्इ हो । अहिले यो सोचमा सुधार आएको छ । यसैगरी राजमार्गमा कार, मोटरसाइकललाई रोकेर जगात माग्ने तथा साँझपख त्यो कमाइले जाँड-रक्सी खाएर जथाभावी गर्ने जस्तो गलत प्रवृत्तिले प्रश्रय पाएको देखिन्छ यस तर्फ नेपाल प्रहरी अज चनाखो बन्नुपर्ने देखिन्छ, त्यसलाई निरुत्साहित गर्नु जरुरी छ। यस्तो प्रवृत्तिले बढ्ने मौका पायो भने मगन्ते संस्कार हुर्कन-बढ्न थाल्छ, जुन कुनै पनि दृष्टिकोणले उपयुक्त मान्न सकिन्न। साथै यस दिन धुनी बाल्ने नाउँमा छिमेकीको घरबाट दाउरा चोरेर ल्याएर वा जथाभावी रुख काटेर शिवधुनी भनी आगो बाल्ने गलत प्रवृत्तिलाई पनि कुनै हालतमा बढावा दिनु हुँदैन। यस्तो प्रवृत्तिलाई हटाउनु आवश्यक छ । महाशिवरात्रि पर्वभित्र अनेकौँ उज्याला चेतनाका पक्षहरू छन् जसले मानिसको जागरण र आत्मबोधलाई उजागर पारेर अगाडि बढ्न प्रेरित गर्दछ।

पशुपतिक्षेत्र विकास कोषको स्थापना वि.सं. २०४३ मा भएपछि पशुपतिक्षेत्रको संरक्षण, सम्वर्ध्दन एवं प्रवर्ध्दनको जिम्मेवारी कोषमा आएकोले महाशिवरात्रि लगायत यहाँ मनाइने यात्रा-पर्वहरूको व्यवस्थापन गर्ने जिम्मेवारी कोषले पाएता पनि तीर्थयात्री, दर्शनार्थीहरूका लागि जे-जस्ता सुविधा विकास गर्दै जानु पर्ने हो त्यो सबै भइनसकेको अवस्था देखिन्छ। सवै संभावना रहेको पशुपति क्षेत्रको विकासमा अज सुधार गर्नु आजको आवश्यकता छ । त्यसै गरी धार्मिक आस्थाका केन्द्रहरूको संरक्षण, संवर्धन र विकासबाट देशको आर्थिक सामाजिक रूपान्तरणमा महत्वपूर्ण भूमिका हुनेमा विश्वास गर्न सकिन्छ । महाशिवरात्रि पर्वले हामी सवै देश विदेशमा रहने नेपालीलाई  सुख, शान्ति र स्वस्थ्य बन्ने शक्ति प्राप्त होस हार्दिक शुभकामना छ ।

(लेखकः नेपाल सरकारका उपसचिव एवं सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ ­)

 

 


क्याटेगोरी : विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ