२०७९ असोज १०, सोमबार
Health Aawaj logo
गृहपृष्ठविचारबुबालाई छोरीको प्रश्न : एक चिम्टी सिन्दुरको पर्खाल किन यति अग्लो भयो ?

बुबालाई छोरीको प्रश्न : एक चिम्टी सिन्दुरको पर्खाल किन यति अग्लो भयो ?


वर्षौं अघि तिम्रो घरमा खुसी ल्याउने मै थिए, तिमीलाई आमा,बुवा भनेर पुकार्ने मै थिए म रुँदा तिमीहरूको कलेजो चिरिन्थ्यो मलाई चोट लाग्दा तिमीहरूलाई दुख्थ्यो । हरेक दिन पूजा गरे पछि मलाई लक्ष्मी मानेर टीका लगाई ढोग गर्थेउ मलाई दान गरेर हो तिमीले हजार गाई दान गरे बराबरको पुण्य पाउने लोभ गरेको तर त्यो अदृश्य अमूक पुण्यको लोभमा यसरी दान गरेउ म तिम्रो लागि १० घर परको छिमेकी भए । जो तिम्रो घर आउन त पाउँछु तर तिम्रा घरका एक ईट्टामा नी हक जमाउन पाउदिन । भान्छाकोठामा पसेर आफै झिकेर खान डराउनु पर्छ अब त्यो घरको दराजको चाबी माग्न पाउदिन यति सम्म कि तिम्रो घर आउन अब म त्यो पराई मान्छेको साथ लाएर आउनु पर्छ किन बुवा शरीरको अङ्ग यसरी काट्न सक्छ र कसैले ? म हाँसी खुसी पहेलपुर भएर आउँदा सम्म त त्यही नी राम्रै स्वागत गर्छौ तर दुःख सुनाउने अधिकार नी खोसेऊ,हिजो सम्म काँडा बिझ्दा नी तिम्लाई रुँदै सुनाउँथे आज मन् दुख्दा नी सुनाउन सक्दिन । यदि मैले सुनाए नी तिमी सङ्ग रेडिमेड उत्तर छ छोरी होस सहनु पर्छ ।

हाम्रो मानप्रतिष्ठा मा आँच आउँछ अनि इज्जत पनि जान्छ । बुवा किन यो ईज्जतले आँसु पिउन भन्छ किन ज्यान नै फाल भन्छ र ? के छ ईज्जतमा जुन मेरो जिन्दगी भन्दा अमूल्य छ ? दाजुभाइको जन्म दर्तामा बुवा आमाको नाम जे छ मेरो जन्म दर्तामा नी त्यही छ । दाजुभाइले म फलानोको छोरा भनेर जसको नाम लिन्छन् म नी फलानो की छोरी भनेर उसकै नाम लिन्छु । हिजोसम्म कसैले घर कहाँ भन्दा म त्यही घर को ठेगाना बताउँथे मेरो मन् पर्ने फूलहरु त्यही आँगनमा फुलाएको थिए । त्यो घरको सजावट मैले आफ्नो तरिकाले गर्ने गर्दथे त्यो आँगन त्यही हो जहाँ दाजुभाइ र म सङ्गै खेलेथ्यौ त्यो काख नी त्यही हो जहाँ म दाजुभाइ सङ्गै लुटुपुटु गर्थे । ती आमाका छाती उति नै चुसे मैले जति मेरा दाजु भाइले चुसे म नी आमा को गर्भमा त्यति नै समय बसे जति दाजुभाइ बसे म नी त्यही प्रसव पीडाको साथ जन्मेकी हु जुन प्रसव पीडाको साथ दाजुभाइ जन्मे फेरि किन किन बुवा एक चिम्टी सिन्दुरको पर्खाल यति अग्लो भयो ? आज म मेरो तपाइहरुले बनाई दिनु भएको घरबाट कुटाई खाएर यातना सहेर नी म किन तिम्रो घरमा ओत लाग्न पाउन्न ? किन अब यो घर तेरो होइन भनेर टाढा बनाउनुहुन्छ ?जन्मेको घरको अधिकार त पाइन् भने हिजो गएको घरमा म के अधिकार खोजु ? बिबाह दर्ता भन्दा पहिलो पहिचान त मेरो जन्म दर्ता हो ।

सिउँदोमा जसलाई राखे नी रगतमा त माइती नैं हुन्छन् सिउँदोको रङ्ग मेटाउन नी सकिन्छ रगत फेर्न सकिन्छ र बुवा ? पण्डितको मन्त्रले गोत्र फेरिएला बाउ फेरिन्छ र बुवा ? हिजो सङ्गै खेलेको आँगनको एक छेउ तलाई भो चेली भन्न किन सक्दैनन् दाजुभाइ ? हरेक साल तेलले बाटो छेकेर ओखरमा यमराजलाई फुटाएर दीर्घायुको कामना गर्ने चेलीको आँसु कसरी हेर्छौं ? त्यो सप्त रङ्गी टीकाको एक रङ्ग आफ्नी चेलीलाई दिन सक्दैनौं ? प्रिय माइतीहरु दिनदिनै मरिरहेका चेलीहरुमा भोलि तिम्री चेलीको नाम नी आउला अनि तिमी नी लास बोकेर सडकमा बस्नु पर्ला त्यो भन्दा अगावै आफ्नी चेलीको असली माइती बन अप्ठ्यारोमा साथ मात्र देऊ आफ्नो बाटो आफै खन्न सक्छन् चेलीहरु आफ्नो रगत आफ्नो संस्कार माथि विश्वास गरेर हेर कुनै माइती रुनु पर्दैन कुनै माइती को ईज्जत नी जान्न र कुनै माइतीले आफ्नी चेली को लास पनि बोक्नु पर्दैन। ”

यो एउटा भावना मात्र हो यसमा माइती लाई सम्बोधन गरेको छु । यो पढे पछि धेरै जनाको आसु आउन सक्छ पढ्दै जाँदा आँखा रसाउन पनि सक्छन । केही समय मेरो भावना मा बगिदिनु होला तर यसरी कसैलाई रुवाउने अनि भावनामा बगाँउने मेरो उदेश्य होइन अनि थिएन पनि मेरो उदेश्य त बस माइतीले बिहे गरेपछि छोरी सङ्गको नाता खुकुलो नपारिदिउन भन्ने मात्र हो । अहिले निकै चेली माइतीबाट एकदम अलग भइ सकेका छन् हरेक चेलीलाई बिहे पछि ट्युमर जसरी काटेर फाल्दा आनन्द आउँछ हो त्यसरी नै माइतीलाई आनन्द आएको छ । छोरीको बाँकी जिन्दगी सुख पाए पनि ठिकै छ दुःख पाए नी आफ्नो भाग्यले पाउँछे रिजाउन सके घर गरेर खान्छे नसके सहेर बस्छे टन्टै साफ भन्ने सोच हाम्रो समाज अझै रहेको छ । माथिको भावना मैले मेरो बारेमा मात्र लेखेको होइन यो त धेरै चेलीहरु को मन् को आवाज लाई मैले बोलेको हु ।

म पनि एउटी छोरी को आमा हुँ। तर म मेरो छोरी कसैलाई दानमा दिन्न म कन्यादान पटक्कै गर्दिन म जसको हात मा मेरी छोरी दिन्छु उ सङ्ग मेरी छोरीको सुख दुःख को जिम्मेवारी बाढ्छु । कन्यादान होइन जिम्मेवारी अर्पण गर्नेछु। एउटा परिवार निर्माण गरी सृष्टि को नियमलाई अघि बढाउन जबसम्म राजीखुसी दुवै जना एक अर्कामा समर्पित हुन्छन् तब सम्म सामाजिक र संस्कारिक रूपले दुवै जना सङ्गै मिलीजुली एउटा सृष्टिको रचना गरुन् एक अर्कालाई सहेर होइन चाहेर अगी बढुन दबाबमा बस्न दुवै लाई नपरोस्। सिन्दुर माइतीको बाटो छेक्ने पर्खाल होइन चुराहरु बाउ आमाको गाला मुसार्ने हातका हतकडी होइनन्, पोते घाटीको पासो होइन यो कुरा दुवैले बुझ्न जरुरी छ। मेरी छोरी त्यो घरपरिवारको सदस्य बनेर जावस कुनै मेसिन होइन त्या उसको आत्मसम्मान को सम्मान गरियोस् । त्यहा उसका दुखाइ महसुस गरियोस् कथम कदाचित मेरी छोरीले असजिलो महसुस गरेमा उसको जन्म घर उसलाई कुनै पनि अवस्थामा स्वीकार्न राजी छ । यो कुरा सानै बाट मेरो छोराले नी बुझोस की यो घर दिदी को माइती होइन घर नै हो। यदि मेरी छोरीको आँखा बाट एक थोपा आशु झरेछ भने म दोस्रो थोपाको प्रतीक्षा गर्ने छैन।

सबै आमा बुवा दाजु भाइले यसरी जिम्मेवारी लिने हो भने घरेलु हिंसा स्वतः बन्द हुन्छ तसर्थ कन्यादान होइन जिम्मेवारी अर्पण गरौं । मेरो रगत मेरै शरीरमा बग्छ कसैको सिन्दुरले मेरो रगत आफ्नो शरीरमा सार्न सक्दैन । मेरी छोरी मेरो इज्जत होइन मेरो सम्मान हुन मेरो गौरव हुन मेरो स्वाभिमान हुन । म मेरो स्वाभिमान लाई घरको न घाटको कसरी बनाउन सक्छु ? अब हरेक आमा बुवाले सोचौं सन्तान प्राप्तिको अहोभाग्य हाम्री छोरी कसैको घरको बोझ होइन सान बनोस् लक्ष्मी बनोस्।


क्याटेगोरी : विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ