संसार भर ३१औं अन्तराष्ट्रिय १६ दिने महिला हिंसा विरुद्ध को अभियान चलिरहेको छ । राष्ट्रिय नारा मा “सभ्य समाज को पहिचान लैङ्गिक हिंसा बिरुद्धको अभियान ” म अन्तराष्ट्रिय जगत मा कहाँ के भइ रहेको छ त्यता तर्फ जान चाहिन पहिला घरको कुरा गरौं राष्ट्रको कुरा गरौं ।
समानताको परिभाषा अरु राष्ट्रको भन्दा मेरो राष्ट्रको निकै फरक छ । हामी लैङ्गिक समानताको सङ्ग मागिरहेको छौं ? के हामी साँच्चै पुरुष बाट मात्र पीडित हो त ?के हाम्री आमाले छोरा र छोरी बीच सामान व्यवहार गरिन ? के सासु ले हामी लाई छोरी कै रूपमा स्वीकारिन ? हाम्रा नन्द ,अमाजु देउरानी , जेठानी यी हाम्रा दिदी बहिनी, साथी बन्न सके? पुरुषबाट मात्र पीडित हो भने सासु,नन्द अमाजु देउरानी जेठानी को यत्रो हाउगुजी किन छ हामी महिला भित्र ?जन्मे देखि नै ईज्जत र संस्कार को भारी महिलाले नै बोकाउँछन् । । ५ वर्षको छोरा १० वर्षको छोरीको पहरेदार हुन्छन । बलात्कार गर्ने छोरा निस्कलंक अनि बलात्कृत छोरी सब को नजर मा दोषी बन्छिन ।
बुहारी मरे छोरालाई अर्को केटी खोज्न हतारिनेहरु ज्वाई मरे छोरी लाई विधवाको उपनामको घेरा भित्र राखेर इज्जत र संस्कारले घप्लक्कै छोपिदिन्छन् । उच्च स्वरमा नबोल्नु, खित्का छोडेर नहास्नु ,आवाज आउने गरी नहिन्नू, महिनाबारी भएको समयमा अलग्गै बस्नु,यस्ता धेरै प्रतिबन्धले लैङ्गिक असमानता सहितको महिला हिंसा बोकेको छ । पहिला हामी महिला सुध्रिन जरुरी छ,जब सम्म हामी आफैले आफूलाई सम्मान गर्दैनौ तब सम्म अरुबाट सम्मान पाउन सक्दैन । हामी आफै लाचार भइदिन्छौं निरिह भइदिन्छौ अनि पुरुष ले हेप्छन् नै म महिला हुँ मैले यो गर्न सक्दिन भन्ने भावना हामीबाट हट्न पर्यो । हामी त त्यो शक्तिको खानी हौं जुन पुरुषमा हुनै सक्दैन,खुद पुरुषको सृष्टी कर्ता हामी हौं भन्ने सकारात्मक र आत्मविश्वासी अभिमान हुन पर्यो। महिलामा अलिकति अभिमान अलिकति स्वाभिमान हुनै पर्छ यसले आत्मरक्षा गर्न सहयोग पुग्छ । घर भित्र आफू बलियो हुन पर्यो सासुको सही कुरामा समर्थन गरौं तर गलत कुरालाई तत्काल प्रतिवाद गरौं ।
सासु हो अलि अलि भनी हाल्छन् भनेर चुप लाग्नु भो भने त्यो अलि अलि कति बेला धेरै बन्न पुग्छ अनि हामीलाई पत्तै हुन्न। नन्द ,अमाजु ,देउरानी, जेठानी सबै सङ्ग सौहार्द पूणर् सम्बन्ध होस मिल्दा आत्मसम्मान गीराएर मिल्न थाल्नुभो भने त्यहीबाट द्वन्द सुरु हुन्छ ।अरुलाई सम्मान गर्नुस् तर आफ्नो आत्मसम्मान गिर्न नदिनुस् भगवान कसैलाई नबनाउनुस् किनकि तपाईंले बनाएको भगवानले एक दिन तपाईं लाई भन्नेछकी भगवान कोही एकको हुँदैन । अब आयो पुरुषबाट विभेदको कुरा पुरुष हाम्रो बुवा ,भाइ, दाई, श्रीमान र छोरा,यहाँ हामी यी सम्बन्धको अगाडी यति कमजोर छौं नी हामी हरपल उनीहरू लाई महसुस गराई रहन्छौ की हामी उनीहरू बिना केही होइन । यो मध्ये पनि श्रीमानलाई हामी महिलाले यति माथि चढाउछौं की कुरै नगरौं ।
मेरो श्रीमान् बिना बाँच्न सक्दिन उ मेरो भगवान हो उ मेरो सास मुटु कलेजो फोक्सो आन्द्रा सबै हो भनेर उसलाई ठूलो बनाइदिन्छौं । साना भन्दा साना आबश्यकताहरु समयमा पूरा गर्नु उसले चाहेको बेला यौन प्यास मेटाउन को लागि तयार हुनु समग्रमा उसको गुलामी गर्नुलाई हामी हाम्रो गौरब मान्छौं सम्मान मान्छौं र त्यति मै जिन्दगीको सर्वस्व खुसी देख्छौं। हो यही निर हामी नराम्ररी चुक्छौं बिस्तारै हामी उसको कैदी हुँदै गएको हामीलाई थाहै हुन्न।अनि सुरु हुन्छ हिंसा, मानसिक शारीरिक सामाजिक र आर्थिक हिंसा जब पुरुष लाई लाग्छ यो मेरो कठपुतली भै सकी अनि उ बाहिर रमाउन थाल्छ ।
हाम्रो प्रश्न उसलाई विझाउन थाल्छ हाम्रो माया नाटक लाग्छ, हाम्रो केयर बन्धन लाग्न थाल्छ, उसका सन्तान र घर परिवार को स्याहारले थालिएको शरीर कुरुप लाग्न थाल्छ अनि उ बाहिर चाहर्न थाल्छ,अनि त्यसपछि आउँछन् यसरी घरबाट अघाएको पुरुषको भोक जगाउन साख्य बन्ने औतारी महिलाहरु । त्यस्ता महिला जो आफ्नो त्यस्तै पतीबाट पीडित हुन्छन् या अविवाहित तर पैसाको लागि कुनै नी हद पार गर्न सक्ने हैसियत भएका हुन्छन् पुरुषले गएर आफ्नो दुःख दर्द पोख्छ मेरो श्रीमती यस्तो उस्तो राम्री छैन मलाई खुसी राख्न सक्दिन या वा यस्तै भनेर निरिह बन्छन् अनि ती महिलाहरु मलम बनेर आउँछन । हो या निर साँच्चै हिंसा मुक्त समाज चाहने हो भने ती मलम बन्ने महिला मलम होइन हतियार बन्न सक्नु पर्छ । यदि कोही पुरुष त्यसरी आउँछ भने उ प्रति सहानभुती देखाएर उसको ओछ्यान सम्म पुग्ने होइन की घाटी समाएर घोक्र्याउन सक्नु पर्छ ।
जो पुरुष आफ्नो सन्तानकी आमालाई आफ्नो जीवन सङ्गिनीलाई धोका दिँदै छ उ मेरो लागि कसरी निस्वार्थी हुन सक्छ भनेर सोच्नु पर्छ तर अफसोच या त कोही पुरुष त्यसरी आउँछ भने उल्टै घरको महिलालाई झन् खराब देखाएर आफू राम्रो हुन खोज्ने महिलाहरुको वर्चस्व छ । बिचरा बुढीले माया गर्दिन रैछे खान नी दिन्न रैछे कठै भन्दै दया देखाउनेहरुले आफ्नो श्रीमानले नी बाहिर गएर अरु केटी सङ्ग त्यस्तै भन्छ कि विचार गर्नुपर्छ । यो सबै भन्दा ठूलो महिला हिंसा हो जुन महिला बाटै हुने गर्छ माया लाग्योरे भन्दैमा एउटा महिलाको सौता बन्न गएर उसको जिन्दगी उजादिडिने महिला सबै भन्दा ठूलो महिला हिंस्रक हो । अब यहाँ पुरुषको नी गल्ती हुन्छ पुरुष घरमा स्वास्नी हुँदा हुँदै किन बाहिर जानु भन्ने कुरा आउँछ । हामी महिलाले पहिला महिला लाई बुझ्ने कोशिस गरौं । सौता कस्तो हो, नाजायज सम्बन्धले नारी लाई कति पीडा दिन्छ त्यो हामी महिलाले जती पुरुषले बुझ्न सक्छ र ? महिला तयार नै नभएका जान्छ र त्यो पुरुष ? पहिला त्यसरी आउने पुरुषलाई हामी लात हान्न सकौं । त्यति गर्दिदा अर्को महिला र बच्चा बच्चीको जिन्दगी बर्बाद हुन रोकिन्छ । पुरुष आयो रे भन्दैमा महिला झ्याम्मै हाम फाल्न जरुरी छ र ? हामी अरुले अझ भनौं बिबाहित परपुरुषले फकाएको भरमा फक्किने त्यति सस्तो छौं र ? समग्रमा हामी महिला आफ्नै कारणले नै हिंसा मा परेका छौं हामी आफै आफ्नो दुश्मन छौ । पुरुष लाई दोष दिन भन्दा पहिला आफू सुध्रिउ आफू सक्षम बनौं,आफ्नो मित्र बनौं आफू लाई माया गरौं आफू लाई सम्मान गरौं।स्वच्छ सम्बन्धहरु स्थापित गरौं सम्बन्धहरुलाई रछ्यान नबनाऊ ।
घरबाट नै गलत कुराको प्रतिकार गर्न सिकौ छोरीहरु लाई सहनशीलताको पाठ होइन गलतको प्रतिकार गर्ने आँट दिउ आफू बाँच्न आफू नै चाहिन्छ कोही अरु बिना बाँच्न नसक्ने भए सती प्रथाको अन्त्य किन गर्नु पर्थ्यो ? भगवान अदृश्य शक्ति हुन कुनै पुरुषमा भगवान हुन्नन् यो बुझ्नु पर्यो।महिलाले महिला बुझ्नु पर्यो।हामीलाई पुरुष लाई गलहत्याएर अगाडी जानु छैन बस काँधमा काँध मिलाएर सङ्गै पाइला चाल्नु छ । महिला या पुरुष मध्ये कुनै एकले मात्र नी सृष्टि चल्दैन हामीलाई देवी मानेर पूजा गर्न पर्दैन बस हाम्रो सह अस्तित्व स्वीकार गरियोस ।आरक्षण दिन हामी लोपोन्मुख र कमजोर होइन सामान अवसर दिइयोस् हिंसा गर्ने महिला पुरुष जो भए नी सामाजिक बहिष्कार गरियोस् यो सामाजिक बहिष्कार को मुद्दा मैले धेरै अघि देखि उठाइरहेको छु अब यसलाई छिट्टै राष्ट्रिय स्तरमा पुर्याउन पहल गर्दै छु यो अभियानमा हातेमालो गरौं । अन्त्य मा आफू लाई सम्मान गरौ प्रेम गरौं हिंसा विरुद्ध लड्न यो प्रयोग गरौं।