काठमाडौं— नेपाल मेडिसिटी अस्पतालको बिलिङ काउण्टरबाटै २ करोड ६३ लाख रुपैयाँभन्दा बढी गायब भएको छ ।
कर्मचारीहरुको मिलेमतोमा उपचार गर्ने आएका बिरामीबाट लिइएको रकमभन्दा हस्पिटलको सिष्टममा कम इन्ट्री गरी २ करोड ६३ लाख ५५ हजार रुपैयाँ ठगी भएको पाइएको हो ।
उक्त ठगीमा संलग्न रहेको आरोपमा प्रहरीले अस्पतालको बिलिङमा काम गर्ने ३ जना कर्मचारीलाई पक्राउ गरेर थप अनुसन्धान जारी राखेको छ ।
उक्त ठगीको आरोपमा बिलिङमा कार्यरत एक्जुकिटीभ आईपी विलिङ राघव सापकोटा, सनम देशार र आशिष अर्याल रहेका छन् ।
उनीहरुले अस्पतालले प्रयोग गरिरहेको शुक्र नामक एचएमआईएस सफ्टवेयर दुरुपयोग गरेर डाक्टर चार्ज, बेड चार्ज, नर्सिङ चार्ज बापत सर्वसाधारणबाट लिएको शुल्कभन्दा कम शुल्क इन्ट्री गरेर ठगी गरेका हुन ।
प्रहरीले अनुसन्धान जारी राख्दै पक्राउ गरिएकाहरुमाथि अपराधिक लाभ र अपराधिक विश्वासघात कसुरमा ललितपुर अदालतबाट पाँच दिनको समय लिएर अनुसन्धान जारी राखेको छ ।
नेपाल मेडिसिटी अस्पताल स्रोतकाअनुसार यो ठगीकाण्डमा अस्पतालका ९ जनाभन्दा बढी कर्मचारी संलग्न रहेको पाइएको छ ।
अन्य थप कर्मचारीको पनि प्रहरीले खोजी कार्य जारी रहेको जनाएको छ ।
अस्पतालले बिलिङ काउण्टरबाटै रकम गायब पारिएको थाहा पाएपछि ललितपुर प्रहरीमा उजुरी दिएको थियो । सोही उजुरीका आधारमा प्रहरीले छानविन गर्दा ठगी भएको पाइएको हो ।