२०८१ असोज १८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचालु आर्थिक बर्षको ७ महिनामा ८ खर्बको वस्तु आयत

चालु आर्थिक बर्षको ७ महिनामा ८ खर्बको वस्तु आयत


काठमाडौं । कोभिड-१९ले असर गरेता पनि विदेशी वस्तुको आयातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विदेशी वस्तुको आयात कोरोना महामारी पूर्वकै लयमा फर्किन थालेको छ ।

विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो ७ महिनाको (साउनदेखि माघ मसान्तसम्म) तथ्याङ्कअनुसार रु ८ खर्ब तीन अर्ब ६४ करोड बढीको आयात भएको छ ।

गत वर्षको सोही अवधिको तुलनामा ०.०१ प्रतिशतले बढेको हो । गत आर्थिक बर्षको यही अवधिमा रु ८ खर्ब ३ अर्ब बढीको आयात भएको थियो भने ७ महिनाको अवधिमा रु ६९ अर्ब ९१ करोड ७० लाख बराबरको स्वदेशी वस्तु निर्यात भएको छ । गत आवको सोही अबधिको तुलनामा ७.६१ प्रतिशतले निर्यातमा वृद्धि भएको छ ।

गत आवमा यस अवधिमा नै रु ६४ अर्ब ९७ करोड १२ लाख बराबरको स्वदेशी वस्तु निर्यात भएको थियो । विभागको तथ्याङ्कअनुसार यो वर्ष व्यापार घाटामा ०.६६ प्रतिशतले सुधार भएको छ । वैदेशिक व्यापारमा आयातको हिस्सा ९२ र निर्यातको हिस्सा ८ प्रतिशत छ । हिस्सागत रुपमा हेर्दा आयातको हिस्सा मात्र ०.५७ प्रतिशतले घटेको छ ।

विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार ७ महिनामा रु ८ खर्ब ७३ अर्ब ५६ करोड बराबरको वैदेशिक व्यापारबाट नेपाललाई रु ७ खर्ब ३३ अर्ब ७२ करोड घाटा भएको छ । गत आवको यसै अवधिको तुलनामा ५.८० प्रतिशतले गिरावट हो । गत माघमा मात्रै अधिल्लो आर्थिक बर्षको भन्दा ३१ प्रतिशत बढीको वस्तु आयात भएको छ । गत वर्षको माघमा रु १ खर्ब आठ अर्ब ९० करोडको आयात भएकोमा यस माघमा रु १ खर्ब ४२ अर्ब ३९ करोडको आयात भएको हो ।

कुन महिना कति आयात

भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा रु ८५ अर्ब ८० करोड, भदौमा रु ९३ अर्ब चार करोड र असोजमा रु एक खर्ब १३ अर्ब ४३ करोड बराबरको विदेशी वस्तुका आयात भएको थियो ।

कात्तिकमा रु १ खर्ब १० अर्ब २२ करोड, मङ्सिर महिनामा रु १ खर्ब २३ अर्ब १ करोड, पुसमा रु १ खर्ब ३५ अर्ब ७४ करोड बराबरको विदेशी वस्तुको आयात भएको छ । माघ महिनामा रु १ खर्ब ४२ अर्ब ३९ करोड बराबरको विदेशी वस्तु आयात भएको छ ।

७ महिनाको अवधिमा नेपालमा आयात हुने विदेशी वस्तुको पहिलो स्थानमा पेट्रोलियम पदार्थ रहेको छ । ७ महिनामा रु ३९ अर्ब ७० करोड बढीको डिजेल आयात भएको छ । गत पुसमा रु ३२ अर्ब ९३ करोड बढीको डिजेल आयात भएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ