काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा भएको गैर स्थलगत सुपरिवेक्षणका आधारमा ४ वटा ‘ख’ वर्गका विकास बैंक र १ वटा ‘ग’ वर्गका फाइनान्स कम्पनीलाई कारबाही गरेको छ ।
तोकिएको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) कायम गर्ने नसकेका कर्पोरेट डेभलपमेन्ट बैंक ,सलपा विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक र सप्तकोसी डेभलपमेन्ट बैंकले हर्जाना तिरेका छन् ।
त्यस्तै नारायणी डेभलपमेन्ट बैंकले अनिवार्य नगद मौज्दात अनुपात कायम गर्ने नसम्दा तीन पटकसम्म कारबाहीमा परेको छ ।
सीडी रेसियो कायम गर्ने नसकेका कर्पोरेट डेभलपमेन्ट बैंकले पाँचौपटक मंसिरमा १ लाख ९६ हजार २६५ रुपैयाँ, सालपा विकास बैंकले पहिलोपटक मंसिरमा १ लाख १० हजार ६६२ रुपैयाँ , नारायणी डेभलपमेन्ट बैंकले पाँचौपटक मंसिरमा २ लाख ५१ हजार ३२४ रुपैयाँ, र सप्तकोसी डेभलपमेन्ट बैंकले पाँचौपटक मंसिरमा १९ लाख ३६ हजार ६३५ रुपैयाँ बराबरको जरिवाना तिरेका छन् ।
नारायणी डेभलपमेन्ट बैंकले अनिवार्य नगद मौज्दात अनुपात कायम गर्ने नसक्दा पहिलोपटक ३ हजार ९४८ रुपैयाँ, दोस्रोपटक ६३ हजार ७८२ रुपैयाँ र तेस्रोपटक १ लाख ८ हजार ७७० रुपैयाँ जरिवाना तोकिएको छ ।
त्यस्तै , मल्टीपर्पस फाइनान्सले पनि अनिवार्य नगद मौज्दात अनुपात कायम गर्ने नसक्दा केन्द्रिय बैंकको कारबाहीमा परेको छ ।
मल्टीपर्पस फाइनान्सले प्रथमपटक २ हजार ७०१.रुपैयाँ जरिवाना तिर्नुपरेको छ।