२०८२ भदौ २८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकर्जा बढ्दै, निक्षेप घट्दै

कर्जा बढ्दै, निक्षेप घट्दै


काठमाडाैं । आर्थिक वर्ष सुरु भएदेखि निरन्तर घट्दो क्रममा रहेको निक्षेप सङ्कलनमा सुधार आउन सकेको छैन ।

साउन महिना लागेपछि वाणिज्य बैङ्कको निक्षेप सङ्कलनमा झनै सुस्तता आएको हो ।वाणिज्य बैङ्कहरुको छाता संस्था नेपाल बैङ्कर्स एसोसिएसनका अनुसार पछिल्लो दुई सातामा वाणिज्य बैङ्कहरूको निक्षेप ३२ अर्ब रुपियाँले घटेको छ ।

साउन ६ देखि २० गतेसम्म बैङ्कको निक्षेप ३२ अर्ब रुपियाँले घटेको हो ।एसोसिएसनका अनुसार साउन ६ गतेसम्म ४४ खर्ब ७८ करोड रुपियाँ रहेको बैङ्कको निक्षेप साउन २० गते आइपुग्दा ४४ खर्ब ४६ अर्ब रुपियाँमा सीमित भएको छ । साउन १३ गतेसम्म यस्तो निक्षेप ४४ खर्ब ५० अर्ब रुपियाँ थियो ।नबिल र एनबी बैङ्क मर्जरपछि २६ वटामा झरेका वाणिज्य बैङ्कले साउन ६ गतेदेखि २० गतेसम्म एक अर्ब रुपियाँ कर्जा प्रवाह गरेका छन् ।

असार महिनामा कर्जासमेत घटेको बैङ्कमा पछिल्लो दुई सातामा एक अर्बले कर्जा बढेको हो । असार मसान्तदेखि साउन २० गतेसम्मको अवधिमा भने १४ अर्ब रुपियाँले कर्जा घटेको छ ।

निक्षेप तान्न आकर्षक योजना

यद्यपी निक्षेप आकर्षित गर्न पछिल्लो समय बैङ्कहरूले मुद्दती बचत नयाँ योजना सार्वजनिक गरिरहेका छन् । आकर्षक योजना ल्याएर निक्षेपकर्तालाई आकर्षित बनाउन अधिकांश वाणिज्य बैङ्क तथा विकास बैङ्कले मुद्दती योजना धमाधम घोषणा गरिरहेका ल्याएका हुन् । बैङ्किङ प्रणालीमा तरलताको अभाव भइरहेका बेला वाणिज्य र विकास बैङ्कले आकर्षक बचत खाता योजना सार्वजनिक गरिरहँदा बैङ्कहरूको निक्षेप सङ्कलन सुधारिने अपेक्षा गरिएको छ ।

सर्वसाधारणबाट निक्षेप तान्नकै लागि उच्च ब्याज तथा आकर्षक योजनासहित बचत खाता योजना सार्वजनिक गरिरहेका बैङ्कहरूले १० गुणासम्म निक्षेप बढ्ने योजना ल्याएका छन् ।मुद्दती योजना ल्याउने दौडमा सरकारी स्वामित्वका वाणिज्य बैङ्कदेखि निजी क्षेत्रका र विकास बैङ्कले योजना सार्वजनिक गरिरहेका छन् ।

ब्याजदर नबढ्ने

वाणिज्य बैङ्कहरूले भदौ महिनामा पनि ब्याजदर नबढाउने निर्णय गरेका छन् । एसोसिएसनले हालकै ब्याजदर यथावत् राख्ने निर्णय गरेको छ । बैङ्कहरूले विगत पाँच महिनादेखि व्यक्तिगततर्फ यही अधिकतम ११.०३ प्रतिशत ब्याजदरलाई निरन्तरता दिइरहेका छन् । ब्याजदर बढाएर मात्र निक्षेप नबढ्ने स्पष्ट भएको भन्दै बैङ्कहरू थप ब्याज वृद्धि नगर्ने निष्कर्षमा पुगेका हुन् ।

एसोसिएसनको यो निर्णयसँगै अब संस्थागत निक्षेपको ब्याजदर थप सस्तो हुने भएको छ । नेपाल राष्ट्र बैङ्कले व्यक्तिगत निक्षेपको भन्दा २ प्रतिशतले संस्थागतको ब्याजदर सस्तो हुनुपर्ने व्यवस्था गरेको छ ।राष्ट्र बैङ्कको व्यवस्थाका आधारमा अब संस्थागतको ब्याजदर घट्ने भएको हो । यसअघि यस्तो अन्तर १ प्रतिशत मात्र थियो ।

साधारण मुद्दती निक्षेपको अधिकतम ब्याजदर ११.०३ प्रतिशत रहेको छ । व्यक्तिगतभन्दा २ प्रतिशतले कम हुनुपर्ने भएपछि अब संस्थागतले ९.०३ प्रतिशत मात्र ब्याज पाउने भएका छन् ।

 आजकाे गाेरखापत्र पत्रिकामा प्रकाशित गरिएकाे समाचार


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ