काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता एवम पूर्वप्रधानमन्त्री झलनाथ खनाल थप उपचारका लागि नयाँदिल्ली प्रस्थान गरेका छन् ।
नेता खनाललाई बुधबार १२.३० बजे नेपाल एयरलाइन्सबाट दिल्ली गएका छन् । नयाँदिल्ली लगिनुअघि खनालको नर्भिक अस्पताल उपचार भइरहेका थियो ।
खनालाई लगातार ज्वरो आएसँगै सास फेर्न गाह्रो भएपछि खनाललाई २ दिनअघि नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । त्यसपछि नर्भिकको विशेष वार्डमा राखेर उनको उपचार जारी राखिएको थियो ।
उनको परिवारबाट थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित अपोलो अस्पताल लैजाने निणर्य भएपछि अस्पतालले उनलाई आजै डिस्चार्ज दिएको हो । नर्भिक अस्पतालमा रहँदा उाको अवस्था स्थिर रहेको थियो ।
उपचारमा संलग्न चिकित्सहरुकाअनुसार उनको फोक्सोमा पानी जमेको देखिएको थियो । फोक्सोमा पानी जमेका कारण अक्सिजनको कमी देखिएको थियो । खनाललाई निरन्तर अक्सिजनकै सपोर्टमा राखिएको थियो ।
उनमा ज्वरो उल्लेख्य घट्न सकेको थिएन । पिसाब तथा रगतमा समेत इन्फेक्सन देखिएको थियो । नेता खनाललाई मंगलबार एक पिन्ट रगत समेत दिइएको थियो । हेमोग्लोबिनको मात्रा कमी देखिएपछि रगत चढाइएको थियो । २ पिन्ट रगत चढाउने योजना बनेको भएपनि शरीरले सपोर्ट नगरेपछि एक पिन्ट मात्र रगत चढाइएको थियो ।्
दिल्ली उड्नुअघि पनि खनाललाई निरन्तर खोकी लागिरहेको थियो । शरीर समेत शिथिल देखिन्थ्यो, उनी कामिरहेका थिए । चिकित्सकहरुले कोभिड हुँदा उनलाई निमोनियाको समस्या देखिएको र सो समस्या फेरि बल्झिएको समेत आशंका गरेका छन् । मूलतः नेता खनालमा मिर्गौलाको समस्याबाट हुने लक्षण र कोभिडपछि देखिने लक्षणहरु देखिएको उपचारमा संलग्न चेस्ट फिजिसियन डा. ब्रजेन्द्र श्रीवास्तवले बताए । डा. श्रीवास्तवका अनुसार खनालको रगत र पिसाबमा समेत इन्फेक्सन देखिएको थियो ।
एमाले महासचिव ईश्वर पोखरेलले बुधबार नै खनाललाई नर्भिक पुगेर भेटेका थिए । सो क्रममा उनले खनालको स्वास्थ्यलाभको कामना गरेका थिए ।