२०८१ असोज २०, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारसाधारण, हकप्रद र बोनश शेयर भनेको के हो ?

साधारण, हकप्रद र बोनश शेयर भनेको के हो ?


साधारण शेयर – कुनै पनि कम्पनीले आर्जन गरेको नाफाबाट अग्राधिकार सेयरधनीहरुलाई तोकिएको दरमा लाभांश वितरण गरिएको पछी बाँकी हुने रकमबाट लाभांश वितरण गरिने गरी अर्थात् कम्पनीको प्रतिफल अन्तिम अधिकार हुने गरी जारी गरिएको धितोपत्रलाई साधारण शेयर भनिन्छ ।

आर्जन गर्दैमा साधारण शेयरवालाहरुलाई लाभांश प्राप्त हुन्छ भन्ने हुँदैन अर्थात साधारण शेयरमा लाभांश दिनै पर्ने बाध्यात्मक अवस्था हुँदैन । तर कम्पनीले जति बढी नाफा आर्जन गर्दछ, उति नै बढी दरमा लाभांश प्राप्त हुने सम्भावना भने रहन्छ ।

साथै लाभांशको रुपमा कम्पनीले साधारण शेयरवालाहरुलाई बोनश शेयर पनि वितरण गर्न सक्छ । सम्बन्धित कम्पनी खारेजीमा गएको अवस्थामा डिवेञ्चरवालाहरु र अग्राधिकार शेयरवालाहरुलाई भुक्तानी गर्नुपर्ने रकम भुक्तानी गरिसकेपछि बाँकी रहेको रकम मात्र साधारण शेयरवालाहरुले दावी गर्न सक्छन् । यस कारण साधारण शेयरमा गरिने लगानीलाई जोखिमपूणर् मानिएको छ । बढी प्रतिफल प्राप्त गर्न बढी जोखिम पनि उठाउन तयार हुने लगानीकर्ता (Aggressive Investor) का लागि मात्र साधारण शेयर जस्तो धितोपत्रको औजार उपयुक्त मानिन्छ ।

हालको प्रचलित ब्यवस्था अनुसार साधारण शेयरको अंकित मूल्य साधारणत . १ सय रुपैयाँ रहेको छ । कथंकदाचित सम्बन्धित कम्पनी खारेजीमा गई ठूलो दायित्व ब्यहोर्नुपर्ने भएमा पनि साधारण शेयरवालाहरुको दायित्व उनीहरुले लगानी गरेको रकमसम्ममै सिमित हुन्छ र आफ्नो घरघरानाबाट ब्यहोर्नु पर्दैन ।

हकप्रद शेयर – विगतमा सर्वसाधारणमा साधारण शेयर निष्काशन गरिसकेको कम्पनीले भविष्यमा पुनः साधारण शेयर निष्काशन गर्ने भएमा त्यसरी निष्काशन गरिने शेयरहरु खरीद गर्ने पहिलो हक विद्यमान शेयरवालाहरुलाई प्राप्त हुन्छ । यस प्रकार पुनः निष्काशन गरिने शेयरमा विद्यमान शेयरवालाहरुको पहिलो हक हुने भएकोले त्यस्तो शेयरलाई हकप्रद शेयर भनिन्छ । हकप्रद शेयर खरीद गर्ने वा नगर्ने निणर्य गर्न विद्यमान शेयरवालाहरु स्वतन्त्र हुन्छन् । विद्यमान शेयरवालाहरुले आफूले पहिले खरीद गरेको शेयरको अनुपातमा हकप्रद शेयर खरीद गर्ने अधिकार प्राप्त गर्दछन् ।

लाभांश र बोनश शेयर– कम्पनीले आर्जन गरेको नाफाबाट आफ्ना शेयरधनीहरुलाई दिइने प्रतिफल नै लाभांश हो । यस्तो लाभांश नगदमा दिइएमा नगद लाभांश भनिन्छ भने शेयरमा दिएमा बोनश शेयर वा स्टक डिभिडेन्ड भनिन्छ । कम्पनीको बचत वा जगेडाकोषलाई पूँजीकरण गर्नका लागि विद्यमान शेयरवालाहरुलाई यस प्रकार थप शेयर (बोनश शेयर) प्रदान गरिन्छ वा चुक्ता पूँजी वृद्धि गरिदिन्छ । लाभांशको परिमाण सञ्चालक समितिद्वारा निणर्य गरिन्छ ।

 नेपाल धितोपत्र बोर्ड


क्याटेगोरी : पूँजी बजार
ट्याग : #नेपाल धितोपत्र बोर्ड


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ