काठमाडौं । आत्मनिर्भर लघुवित्त र बिपिडब्लु लघुवित्तको साधारण शेयर नेपाल स्टक एक्सजेञ्ज लि (नेप्सेमा)मा सूचीकृत भएको छ ।
नेपाल स्टक एक्सजेञ्ज लि (नेप्से) र यी दुई लघुवित्त कम्पनी बीच आईतबार साधारण शेयर सूचीकृत सम्बन्धी सम्झौता भएसँगै आत्मनिर्भर र बिपिडब्लु लघुवित्तकोे शेयर दोस्रो बजारमा मंगलबारबाट आउने भएको हो ।
सोमबार अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सार्वजनिक बिदा भएकाले यी दुवै लघुवित्तको शेयर मंगलबारबाट कारोबारमा आउने भएका हुन्। नेप्सेले आत्मनिर्भरलाई ‘एएनएलबी’ र बिपिडब्लुलाई ‘बीपीडब्ल्यू’ कारोबार संकेत प्रदान गरेको छ ।
नेप्सेले पहिलो कारोबारका लागि आत्मनिर्भर लघुवित्तलाई प्रतिकित्ता न्यूनतम ३७१.८२ रुपैयाँ र अधिकतममा १११५.४६ रुपैयाँ तोकेको छ भने बिपिडब्लु लघुवित्तलाई प्रतिकित्ता न्यूनतम ८६.७८ रुपैयाँदेखि अधिकतममा २६०.३४ रुपैयाँ तोकेको छ।
आत्मनिर्भर लघुवित्तको सूचीकृत ६ लाख २३ हजार ३८० कित्ता शेयर मघ्ये सर्वसाधारणलाई निष्काशन (कर्मचारीसहित) गरिएको २ लाख ३ हजार ३८० कित्ता र संस्थापक समूहको ४ लाख २० हजार कित्ता रहेको छ ।
त्यस्तै,बिपिडब्लु लघुवित्तको सूचीकृत ३ लाख कित्ता शेयर मघ्ये सर्वसाधारणलाई निष्काशन गरिएको (वैदेशिक रोजगारमा नेपालीहरु र सामूहिक लगानी कोषसहित) ९७ हजार कित्ता र संस्थापक समूहको २ लाख ३ हजार कित्ता रहेको छ ।