काठमाण्डौ । नेपाल आयल निगमले डिजेल र मट्टीतेल दुवैमा १ रुपैयाँ मूल्य घटाएको छ ।
नयाँ मूल्यअनुसार डिजेल र मट्टितेल प्रतिलिटर ८९ रुपैयाँमै पाइनेछ । यो मूल्य बिहीबार मध्यरातिदेखि नै लागू हुने आयल निगमले जनाएको छ ।
निगमले पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य पनि यथावत राखेको छ।
निगमलाई इन्डियन आयल कर्पोरेसनबाट पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको खरिद मूल्यमा केही बढेर नयाँ सूची आएको छ । तर, निगमले हाललाई मूल्य यथावत राखिएको प्रवक्ता विनितमणि उपाध्यायले एक विज्ञप्ति जारी गरी बताएका छन् ।
मूल्य समायोजनपछि पनि भारतीय सीमा रक्सौलसँग जोडिएको वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर २८ रुपैयाँ ७५ पैसा र डिजेल ३४ रुपैयाँ ७७ पैसा नेपालतर्फ सस्तो रहेको छ ।