काठमाडौँ । चारदिने भ्रमणको लागि अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)का उपाध्यक्ष फतिमा सुमारको टोली आज बिहान काठमाडौँ आइपुगेको छ ।
कतारबाट काठमाडौँ आएको उक्त टोलीमा उपाध्यक्ष सुमारसँगै नायब उपाध्यक्ष जोनाथन ब्रुक्स समेत छन् ।
त्यस्तै ,आजै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उनकै निवास भक्तपुरको बालकोटमा भेट्ने कार्यक्रम रहेको छ ।ओलीसँगको भेटवार्ता पछी उपाध्यक्ष सुमार नेतृत्वको टाेलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट्ने कार्यक्रम छ ।
त्यस्तै, उक्त टोलीकाे अन्य राजनीतिक दल , अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा,जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक-आर्थिक विकासका लागि चार वर्षअघि भदौमा नेपाल सरकार र एमसिसीबीच मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट)मा द्विपक्षीय सम्झौता भएपछि एमसिसीबाट यो तहमा पहिलोपटक भ्रमण भएको हो । यस भ्रमणलाई चासो र महत्वका साथ हेरिएको छ ।
सम्झौताअनुसार सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट रु ५० अर्ब सहयोग प्राप्त हुने छ ।
एमसिसी परियोजनामा ४०० किलोभोल्ट क्षमताको ३१८ किलोमिटर लामो प्रसारण लाइन एवं तीन उच्च क्षमतायुक्त सबस्टेशन निर्माणमा केन्द्रित विद्युत् प्रसारण आयोजना र बढीमा ३०० किलोमिटर रणनीतिक सडकको मर्मतसम्भारका विषय समावेश गरिएका छन् ।