काठमाडौं – आशा लघुवित्त वित्तीय संस्थाले आफ्ना सदस्यहरुको लागि ब्याज तथा हर्जाना छुट सुविधा ल्याएको छ ।
कोभिड-१९ को दोस्रो लहरसँगै संक्रमण नियन्त्रण तथा निवारणका लागि देशभरी जारी गरिएको निषेधाज्ञाका कारण बन्दाबन्दीको अवस्था सृजना भई व्यापार व्यवसाय पूर्णरुपमा ठप्प हुँदा सदस्यको आम्दानीमा समेत प्रत्यक्षरुपमा असर परेकाले यो सुविधा ल्याएको संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री बद्री प्रसाद दुलालले जानकारी गराए ।
संस्थाले महामारीको कारण सदस्यले कर्जाको किस्ता नियमित भुक्तानी गर्न नसकेको खण्डमा सो वापत वित्तीय संस्थाको नियमानुसार लाग्ने हर्जाना रकम २०७८ जेठ १ गते देखि बन्दाबन्दी पूणर्रुपमा अन्त्य भएको १ महिनाको अवधि सम्मको लागि नलिने व्यवस्था मिलाइएको जनाएको छ ।
त्यस्तै, महामारीको कारण वा अन्य कारणले समेत यसअघि देखि नै वित्तीय संस्थालाई बुझाउनु पर्ने कर्जा रकम भुक्तान नगरेका ग्राहक सदस्यहरुको हकमा असार १ गते देखि असार ३१ गते भित्र हालसम्म रोकिएको सम्पूण साँवा तथा ब्याज भुक्तान गरेको खण्डमा भुक्तानी गरेको ब्याज रकममा १० प्रतिशत तथा हर्जानामा शतप्रतिशतका दरले छुट प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।
महामारीको कारण ग्राहक सदस्यलाई पर्न गएको क्षतिलाई न्यूनिकरण गर्न हाल प्रदान गर्दै आएको ग्राहक संरक्षण कोषअन्तर्गतको सुविधामा केही शिर्षक थप गरी ग्राहकलाई सुविधा प्रदान गर्ने निणर्य समेत भएको हँदा सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गरी समयमा नै लाभ लिनुहुन संस्थाले अनुरोध गरेको छ ।
नेपाल राष्ट्र बैंकबाट ‘घ‘ वर्गको वित्तीय संस्थाका रुपमा स्वीकृति प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘विपन्नका निम्ति आशा‘‘ भन्ने मुल नाराका साथ ककनी – ६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भाद्र १५ गतेबाट कारोबार शुरु गरेको हो ।
हालसम्म वित्तीय संस्थाले २९ वटा जिल्लाहरुका ५५ शाखा कार्यालयहरुमार्फत करिब ६४ हजार सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाको हालसम्म करिब रु. ३ अर्ब ७२ करोड कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट १ अर्व २२ करोड भन्दा बढी निक्षेप संकलन गरेको छ ।