काठमाडौं । आज देशभर गणतन्त्रको दिवस अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
कोभिड-१९को दोस्रो लहरसँगै सरकारले जारी गरेको निषेधाज्ञाका कारण औपचारिक रुपमा गणतन्त्र दिवस मनाउन नसके पनि भर्चुअल तथा विभिन्न अनौपचारिक माध्यमबाट विभिन्न कार्यक्रम आयोजना गरेर मनाइदैँ छ ।
तत्कालीन राजा ज्ञानेन्द्र साहले विसं २०५९ जेठ ८ गते संसद विघटन गरेका थिए । संसद विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन हुने अवस्था नभएपछि राजाको इच्छा अनुसार प्रधानमन्त्री बनाउने र हटाउने गरेका थिए । राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाएका थिए ।
नेपाल राजनिति दलहरु राजाको कदमका विरुद्धमा सडकमा आन्दोलरत थिए । विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा माओवादीकाबीच १२ बुँदे समझदारी भएको थियो । पूणर् लोकतन्त्र स्थापनाका लागि दुवै शक्तिबीच समझदारी भयाे ।
उक्त सझदारीले तीन ध्रुवमा विभाजन भएका राजनीतिक दल दुई ध्रुवमा आए अनि पछि आन्दोलनले गति लियो । लाखौँ लाख जनता राजाको कदम विरुद्ध सडकमा आए । राजधानी तथा देशका अन्य शहर गाँउमा मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र दलहरुको मार्गचित्रमा सहमत हुन बाध्य भए । राजाले आन्दोलरत दलले माग गरेको बमोजिम वैशाख ११ गते राति संसद् पुनस्र्थापना र बैठक समेत आह्वान गरेका थिए । यसैले यस दिनमा लोकतन्त्र दिवस भनिन्छ । यो दिन नै गणतन्त्रको जगका रुपमा स्थापित बन्यो ।
पुनस्र्थापित संसद्ले विसं २०६३ जेठ ४ गतेकोे राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गर्यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने संकल्प प्रस्ताव पारित गरेको थियो ।
यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् रुपमा अन्त्य गर्यो ।
पहिलो संविधानसभाले संविधान जारी गर्न नसकेपनि विसं २०७० मंसिर ४ गते सम्पन्न भएको दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । संविधान बमोजिम तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भयो । जस अनुसार संघीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् ।