काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबको तीन दिन उच्च सतर्क रहन अनुरोध गरेको छ ।
पश्चिम बङ्गालको खाडीमा विकसित भएको चक्रवातका कारण आज देखि तीन सम्म देशका धेरैजसो भागमा पानी पर्ने सम्भावना रहेकाले विशेष ध्यान दिन र आवश्यक तयारीमा रहन प्राधिकरणले अनुरोध गरेको छ ।
अहिले उक्त चक्रवात समुद्रबाट जमीनतर्फ प्रवेश गरी उत्तर-पश्चिम सर्ने क्रममा रहेको प्राधिकरणले जनाएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार जेठ १३ देखि १५ गतेसम्म प्रदेश १, २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना छ । ती प्रदेशका तराइमा अति भारी वर्षा, चट्याङ पर्ने र उच्च वेगको हावाहुरी आउने सम्भावना रहेको जनाइएको छ ।
कणर्ाली र सुदुरपश्चिम प्रदेशमा भने एक दुई स्थानमा मेघ गर्जनसहित चट्याङ पर्ने र मध्यम वर्षाको सम्भावना छ । गण्डकी, वाग्मती र प्रदेश १ का हिमाली र उच्च पहाडी क्षेत्रमा केही स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको प्राधिकरणले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बस्ती नजिक बाढी पहिरो डुबानको जोखिम आकलन गरी सुरक्षाकर्मी एवं स्थानीय निकायसँगको समन्वयमा सुरक्षित स्थानमा बस्न र नदी, खोला किनार एवं पहिरो आसपास बसोबास गर्ने बासिन्दालाई सतर्क रहन प्राधिकरणले अनुरोध गरेको छ ।
पहाड भेगमा भूक्षय तथा पहिरो एवं तराईमा बाढी आउनसक्ने भएकाले हरेक जिल्लामा सुरक्षा निकाय, विपद् व्यवस्थापनमा संलग्न अधिकारी तथा गैरसरकारी निकाय र विषयगत क्षेत्रलाई तयारी अवस्थामा राख्न पनि आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागको टोल फ्रि नं ११५५ मा फोन गर्न र तत्काल खोज, उद्धार र राहतका लागि राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको टोल फ्रि नं ११४९ मा सम्पर्क गर्ने समेत प्राधिकरणले अनुरोध गरेको छ ।
विपद्को समयमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, महिला तथा बालबालिकालाई विशेष ध्यान दिनु पर्वतारोहणका लागि हिमालतिर गएको टोलीलाई फिर्ता बोलाउने प्राधिकरणले अनुरोध गरेको छ ।