२०८१ असोज २१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपछिल्लो १० महिनामा व्यापार घाटा १२ खर्ब, आयात निर्यातकाे अवस्था कस्तो ?

पछिल्लो १० महिनामा व्यापार घाटा १२ खर्ब, आयात निर्यातकाे अवस्था कस्तो ?


काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को १० महिनामा वस्तु निर्यातमा २४.५ प्रतिशतले कमी आएको छ ।

यस अवधिमा १ खर्ब ३० अर्ब ९० करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालबाट अन्य मूलुकमा निर्यात भएको छ ।

नेपाल राष्ट्र्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको यस अवधिमा निर्यात ५९.८ प्रतिशतले वृद्धि भएको थियो।
उक्त विवरण अनुसार चालु आर्थिक बर्षको १० महिनामा भारततर्फको निर्यात ३३.६ प्रतिशतले कमी आएको छ भने चीन तथा अन्य मुलुकतर्फको निर्यात क्रमशः १००.६ प्रतिशत र ८.२ प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, अलैंची, ऊनी गलैचा, पोलिष्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७९/८० को १० महिनामा कुल वस्तु आयात १६.८ प्रतिशतले कमी आएको राष्ट्र्र बैंकले जनाएको छ ।

सो अबधिमा १३ खर्ब ३५ अर्ब ३२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २८.० प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १५.१ प्रतिशत, २१.० प्रतिशत र १८.६ प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा रासायनिक मल, स्पोन्ज आइरन, सुन, पेट्रोलियम पदार्थ, कागज लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, एम.एस.विलेट, औषधी, अन्य मेशिनरी तथा पार्टस्, दूरसञ्चारका उपकरण तथा पार्ट्स लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ भैरहवा, सुक्खा बन्दरगाह, कैलाली, कृष्णनगर, मेची, रसुवा, तातोपानी र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ ।

आयात रसुवा भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।  आर्थिक वर्ष २०७९/८० को १० महिनामा कुल वस्तु व्यापार घाटा १५.९ प्रतिशतले घटेको छ ।

यस अवधिमा नेपालको व्यापार घाटा १२ खर्ब ०४ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २४.९ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा निर्यात-आयात अनुपात ९.८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.८ प्रतिशत रहेको थियो।

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १ खर्ब १९ अर्ब ६० करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात .१ खर्ब ८३ अर्ब ९४ करोड बराबरको भएको थियो।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ