काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोभिड -१९का कारण विदेशबाट भित्रने रेमिट्यान्स आप्रवाह घटने अनुमान विपरित ११.२ प्रतिशतले वृद्धि भएको छ ।
अघिल्लो आर्थिक वर्षको पहिलो ४ महिनाको तुलनामा चालु आर्थिक वर्षको ४ महिनामा विप्रेषण आप्रवाह ११.२ प्रतिशतले वृद्धि भई ३ खर्ब ३७ अर्ब ७२ करोड रुपैयाँ भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २.८ प्रतिशतले घटेको थियो ।
केन्द्रिय बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.४ प्रतिशतले बृद्धि भई २ अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.९ प्रतिशतले घटेको थियो ।
रेमिट्यान्स आप्रवाह बढेपनि कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा जानेको संख्या भने घटेको छ । चार महिनाको अवधीमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत(नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७५.८ प्रतिशतले कमी आई १९ हजार २ सय ५१ जना रहेका छन् ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५.६ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६७.९ प्रतिशतले कमी आई २५९३१ रहेको राष्ट्र बैंकले जनाएको छ भने अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९.१ प्रतिशतले बढेको थियो ।