काठमाडौं । आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कृषि विकास बैंकले १५ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ । बैकको सोमबार बसेको ८५३ औं सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको हो ।
सञ्चालक समितिले नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पुँजीमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश रकम प्रदान गर्ने निणर्य गरेको छ ।
कृषि विकास बैंकमा नेपाल सरकारको अग्राधिकार शेयर ५ अर्ब ४३ करोड रुपैयाँ रहेको छ। यसबापत नेपाल सरकारले ३२ करोड ५८ लाख रुपैयाँ प्राप्त गर्ने छ।
नेपाल सरकारको अग्राधिकार शेयर बाहेकको शेयर पुँजी ९ अर्ब ५५ करोड रुपैयाँ रहेकामा प्रस्ताव गरेको बोनस शेयर वितरण पछि बैंकको चुक्ता पुँजी १० अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ । यसमा नेपाल सरकारको अग्राधिकार शेयर जोडिदा चुक्ता पुँजी १६ अर्ब ४१ करोड रुपैयाँ कायम हुनेछ ।
बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि वार्षिक साधारणसभा बोलाउन सक्ने छ।