काठमाडौं । नेपालमा पूर्वाधार विकासमा लगानी गर्ने उद्देश्यले स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आउदो मंसिर ३ गतेका लागि दोस्रो वार्षिक साधारणसभा बोलाएको छ ।
हालसम्मकै ठूलो धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने प्रस्तावसहित इन्फ्रास्ट्रक्चर बैंकले दोस्रो वार्षिक साधारणसभा बोलाएको छ ।
बैंकले पहिलो वार्षिक साधारणसभाबाटै आईपीओ निष्कासन प्रस्ताव पारित गरे पनि आईपीओ निष्कासन गर्र्ने सकेको थिएन् जसले गर्दा बैंकले दोस्रो वार्षिक साधारणसभामा पनि आईपीओ निष्कासन प्रस्ताव राखेको हो ।
बैंकले ८ अर्ब रुपैयाँबराबरको ८ करोड कित्ता साधारण सेयर जारी गर्ने विशेष प्रस्ताव साधारणसभामा पेस गर्नेछ ।
बैंकले साधारणसभाबाट संस्थागत सामाजिक उत्तरदायित्वका लागि खर्च भएको नक्सालस्थित बाल मन्दिरलाई एक लाख ५० हजार र कोरोना भाइरस संक्रमण रोकथाम कोषलाई २५ लाख रुपैयाँ अनुमोदन गर्ने जनाएको छ ।
बैंकको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, लेखापरीक्षको प्रतिवेदनसहित २०७७ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण र पुँजीमा भएको परिवर्तनहरुसम्बन्धी अनुसूचीहरु छलफल गरी स्वीकृत गर्नेछ ।
यसैगरी आव ०७७/७८ का लागि बाह्य लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि साधारणसभामा रहेको छ ।