चितवन । जिल्लामा प्रशासन कार्यालय चितवनले जिल्लामा जारी भएको निषेधाज्ञा जेठ २७ गते सम्मका लागि लम्ब्याएको छ । प्रशासनले जिल्लामा अझै पनि कोरोना संक्रमणकाे उच्च जाेखिम भएकाले निषेधाज्ञाको अवधि थप भएको जनाएकाे छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आज सात दिनका लागि थप निषेधाज्ञा जारी गरेका हुन । जिल्ला प्रशासन कायालयले काेराेना संक्रमण बढेसँगै गत बैशाख १५ गते देखि जारी गरिएको निषेधाज्ञा यही जेठ २० गते रातिसम्मका लागि लम्ब्याइएकाे थियाे ।
जिल्लामा निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवा, तरकारी, फलफूल, दुग्ध पदार्थ, खानेपानी आपूर्ति, फोहोरमैला व्यवस्थापन, विद्युत्, खाद्यान्न, पशुपन्छीजन्य सामग्री, दाना, माछा, मासु, अण्डा, कृषि उपज, बीउबिजन, रासायनिक मल तथा कृषि औजार ढुवानी गर्ने सवारी साधन भने सञ्चालन गर्न पाइनेछ ।
यस्तै दूरसञ्चार, इन्टरनेट, कूटनीतिक नियनेगका सवारी, सञ्चारकर्मी र पत्रपत्रिका वितरणका लागि प्रयोग गरिने सवारीलाई पनि सञ्चालन गर्न पाइने प्रशासनद्वारा जारी गरेको सूचनामा उल्लेख छ ।
कामदार कर्मचारीलाई उद्योग परिसरमै खाने, बस्ने व्यवस्था वा घरबाट लाने लैजाने व्यवस्था गरेमा उद्योग सञ्चालन गर्न पाइने छ । विकास निर्माण र निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनलाई पनि सञ्चालन गर्न पाउने छुट दिइएको प्रशासन कार्यालयले जनाएको छ ।