काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले नेपालका लागि युरोपेली संघका राजदूत नोना देप्रेजसँग पछिल्लो समय नेपालले हवाई सेवामा पर्याप्त सुरक्षा बढाएकाले यस क्षेत्रमा लगाइएको प्रतिबन्ध हटाउन आग्रह गरेका छन् ।
बुधबार मन्त्रालयमा भएको भेटमा मन्त्री थापाले नेपालको विकास, लोकतन्त्र, मानवाधिकार, विपद् व्यवस्थापनलगायत क्षेत्रमा ईयूले गर्दै आएको सहयोगप्रति धन्यवाद दिँदै आगामी दिनमा समेत सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरेका छन् ।
उक्त अवसरमा राजदूत देप्रेजले नेपालको हवाई क्षेत्रमा लगाइएको प्रतिबन्ध प्राविधिक विषय भएको बताउँदै सो सम्बन्धमा इयुको प्राविधिक समितिले अध्ययन गरिरहेको र छिट्टै निष्कर्षमा पुग्ने आश्वासन दिएका छन् ।
उनले नेपालको सङ्घीयताको अभ्यास, विपद् व्यवस्थापन र कोरोना नियन्त्रणमा चालिएका कदमका सम्बन्धमा गृहमन्त्रीसँग जिज्ञासा राख्दै नेपाललाई ईयूले दिँदै आएको सहयोगले निरन्तरता पाउने तथा आगामी दिनमा थप सहयोग विस्तार गरिने प्रतिबद्धता जनाएका छन् ।