काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको जसपाको आधिकारिकता यादव पक्षलाई दिएको छ ।
आयोगले जसपाका कार्यकारिणी समितिका सदस्यको आज लिएको सनाखतअनुरुप यादव पक्षको बहुमत रहेकाले सोही पक्षलाई दलको आधिकारिकताको फैसला सुनाएको हो ।
जसपाको अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुर दुवै पक्षले आधिकारिकताका लागि कार्यकारिणी सदस्यले निर्वाचन आयोगमा पुगेर सनाखत गरेका थिए ।
जसपामा रहेका ५१ सदस्यीय कार्यकारिणी सदस्यमध्ये ३४ सदस्यले अध्यक्ष यादवको पक्षमा हस्ताक्षर गरेका छन् भने अर्का अध्यक्ष महन्थ ठाकुरका पक्षका १६ सदस्यले हस्ताक्षर गरेका छन् ।
हाल जेल सजाय भोगिरहेका जसपाका सांसद रेशम चौधरी निर्वाचन आयोग परिसर पुगे पनि तटस्थ बसे ।
निर्वाचन आयोगले जसपाको आधिकारिकता विवाद निरुपणका लागि आवश्यक कागजातसहित दुवै पक्षलाई आयोगमा आज बिहान ११ बजे उपस्थिति हुन आग्रह गरेको थियो ।
आयोगले जसपाको आधिकारिकता विवाद निरुपणका लागि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरी यही साउन ३ देखि ७ गतेसम्म कानूनी बहस सकेर पार्टी एकीकरण हुँदाका समयमा पेश भएका कागजातसहित उपस्थित हुन आदेश दिएको थियो ।