काठमाडौं । नेकपाका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनसम्म पार्टी अध्यक्ष र आम चुनावअघि प्रधानमन्त्री नछाड्ने बताएका छन् ।
मंसिर २० गते शनिबार दिउँसो चार घण्टा चलेको नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले दुवै पद नछाड्ने स्पष्ट पारेका हुन् ।
“तपाईंहरूले विधि, पद्धति, प्रक्रिया बैठक भन्दै बहस गरिरहनुभएको छ । तलतल पनि बहस लगिराख्नुभएको छ,” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक सचिवालयका नेताले भने, “महाधिवेशन अघि पार्टी अध्यक्ष र आमचुनावअघि नै मलाई प्रधानमन्त्रीबाट हटाउन लागिएको हो भने बैठकको कुनै औचित्य छैन । म यी दुवै पद छाड्दिनँ ।”
प्रधानमन्त्री ओलीले ठोस प्रस्ताव, कार्यसूची र तयारी पनि नभएकाले भोलिको स्थायी कमिटी बैठक रोक्नुपर्ने बताएका थिए भने अन्य सचिवालय सदस्यहरूले रोक्न नहुने र सचिवालयमा पेस भएका सबै दस्तावेज छलफल गर्नुपर्ने बताएका थिए । “कुनै प्रस्ताव छैन । तयारी पनि छैन । सहमतिमा के गर्ने भन्ने पनि तय भएको छैन,” स्थायी कमिटी बैठक राखेर के गर्नुहुन्छ ? केका लागि बैठक चाहिएको हो ।”
प्रधानमन्त्री ओली आइतबार १ बजेका लागि तोकिएको स्थायी कमिटीको बैठकमामा जाने,नजाने टुङ्गो नलागे पनि बैंठक निधारित समयमै हुनेछ ।