काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । आजको सचिवालय बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित जवाफ प्रस्तुत गर्ने छन् ।
अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत कात्तिक २८ गतेको बैठकमा एकल प्रस्ताव पेश गरेपछि त्यसको जवाफमा ओलीले पनि लिखित प्रस्ताव तयार पारेका हुन् ।
ओलीले गत मंसिर ३ गतेका सचिवालय बैठकमा प्रस्ताव लेखनका लागि १० दिनको समय मागेका थिए । सोही अनुसार अर्को बैठक आज मंसिर १३ गते शनिबारका लागि तोकिएको थियो।
आजको बैठक नेकपाभित्रको विवाद समाधानमा केन्द्रित हुने बताइएको छ । ओलीले पार्टी तथा सरकार एकलौटी ढंगले सञ्चालन गरेको भन्दै प्रचण्डले एकल प्रस्ताव पेस गरेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ ।
नेकपा सचिवालय बैठकमा पुष्पकमल दाहाल प्रचण्डको पक्षमा बहुमत छ । प्रचण्डको पक्षमा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ छन् । ओलीको पक्षमा ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल छन् ।