सरकारले मिटरब्याजसम्बन्धी समस्या नियन्त्रणका लागि कार्यदल गठन गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनअनुसार गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निणर्यबाट मन्त्रालयका सहसचिव डा भीष्म भुषालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका छन ।
कार्यदलको सदस्यमा प्रहरीको केन्द्रीय अनसुन्धान ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानुन उपसचिव श्रीकृष्ण पौडेल, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा रहेका छन ।
कार्यदलको सदस्य सचिवमा ब्यूरोका प्रहरी नायब उपरीक्षक रोशन खड्कालाई तोकिएको छ । प्रधानमन्त्री देउवाले आज बिहानमात्रै गृहमन्त्री खाण, प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र गृह मन्त्रालयका सहसचिवलाई बोलाएर मिटरब्याजीसम्बन्धी समस्या समाधानका लागि उपाय पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउन र भविष्यमा यस्ता अपराध हुन नदिन आवश्यक पहल कदमी लिन निर्देशन दिनुभएको थियो । सोही निर्देशनका आधारमा उक्त कार्यदल गठन गरिएको हो ।
कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ । कार्यदललाई मिटरब्याजी सम्बन्धी समस्या बढी भएका जिल्लामा स्थलगत भ्रमण गरी समस्याका कारण तथा समाधानका उपाय पहिचान गर्ने, मिटरब्याजीमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन अन्तर-निकाय समन्वय र सहकार्य गर्ने तथा आगामी दिनमा यस्तो अपराध न्यूनीकरण गर्न अवलम्बन गर्नुपर्ने उपायका सम्बन्धमा सिफारिससहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी तोकिएको छ ।
—