काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्वास्थ्यलाई महत्वका साथ समेटेको छ ।
शनिबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले बजेटमा पहिलो प्राथमिकतामा कोभिड-१९ को रोकथाम, नियन्त्रणका लागि राखेका छन् ।सरकारले स्वास्थ्य मन्त्रालयको बजेट वृद्धि गरेर १ खर्ब २२ अर्ब ७७ करोड पुर्याइएको छ ।
कोभिड-१९ लाई महत्व दिइएको बजेटमा स्वास्थ्य अन्य क्षेत्रमा पनि कुस्त बजेट बिनियोजन गरिएको छ भने केही आकर्षक कार्यक्रमहरु पनि छन् । केही पुरानै कार्यक्रमहरुलाई पनि निरन्तरता दिइएको छ ।
कोभिड-१९ को सरकारी प्रयोगशाला र अस्पतालमा निःशुल्क परीक्षण र उपचार ,कोभिड अवधिभर अक्सिजन उत्पादनमा लाग्ने विद्युत महसुलमा ५० प्रतिशत छुट ,उपचारमा जनशक्ति अभाव हुन नदिन सेवा निवृत्त तथा इन्टर्नसीपमा रहेका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीलाई तलब र ५० प्रतिशत जोखिम भत्ता पाउने गरी एक वर्ष करारमा सेवामा लिएर अस्पतालमा खटाइने, कोभिड-१९ को उपचारमा प्रयोग हुने औषधिमा भन्सार छुट जस्ता कार्यक्रम ल्याएको छ ।
त्यस्तै ,सबै स्थानीय स्तरमा क्वारेन्टाइन, आइसोलेसन सेन्टर, कन्ट्याक्ट ट्रेसिङ, जनशक्ति व्यवस्थापन र औषधी उपकरण नियमित आपूर्ति गरिने ,कोभिड-१९ संक्रमित भएर घरमा उपचाररतको उपचार, परामर्शका लागि घुम्ती सेवा र कल सेन्टर सञ्चालन गरिने, मनोपरामर्श र आपतकालीन सेवा निःशुल्क उपलब्ध गराउने , कोभिड-१९ को उपचारका लागि सेन्ट्रल कमाण्डको अवधारणा कार्यन्वयनमा ल्याइने, कोभिड-१९ का बिरामीका लागि चाहिने एचडियु, आईसीयु, भेन्टिलेटर, टेष्ट किट लगायतका कोभिड उपचार सामाग्रीलाई ४ अर्ब,. कोभिड-१९ विरुद्धको खोपका लागि २६ अर्ब ७५ करोड , विशेषज्ञ चिकित्सक, आईसीयु, भेन्टिलेटरको नियमित रुपमा सार्वजनिक जानकारी गर्ने व्यवस्था, कोभिड-१९ विरुद्ध फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, सफाइकर्मी र सुरक्षाकर्मीलाई जोखिम भत्ता र प्रोत्साहन भत्ता कोभिड अवधिसम्म नियमित जस्ता कार्यक्रम बजेटमा उल्लेख छ । सरकारले . कोभिड-१९ नियन्त्रण र रोकथामका लागि ३७ अर्ब ५३ करोड बजेट ल्याएको छ ।