काठमाडौं । सनराइज बैंकले सिराहा जिल्लाको लहान नगरपालिका वडा नं.-१८, शोभापुरमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।
सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ९४ पुगेको छ । बैंकले लहान नगरपालिका वडा नं.-१८, शोभापुर मा खोलेको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा श्रीमति हलिमा खातुन लार्ई नियुक्त गरेको छ ।
लहान शाखाको आयोजनामा गरिएको उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन समारोह कार्यक्रममा लहान नगरपालिका वडा नं.-१८ का निवर्तमान वडा अध्यक्ष मो. यासिन मियाँ सभापतित्व तथा सनराईज बैंकका मधेश प्रदेश का प्रमुख दिपक पण्डितको प्रमुख आतिथ्यता र स्थानीय ब्यापारी, स्थानीय समाजसेवी, भद्रभलादमी, कर्मचारी, लगायत विभिन्न अतिथिहरुको उपस्थिती रहेको थियो।
उक्त कार्यक्रमको संचालन सनराइज वैंक लिमिटेड लहान शाखाका कर्मचारी दिपक कुमार सहनीले गरेका थिए भने स्वागत मन्तव्य बैंंकका लहान शाखाका शाखा प्रमुख अरुण राज पौडेल ले राखेका थिए ।
सो अवसरमा बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखा रहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने तथा यस सेवाबाट ग्राहक वर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ । कृषि र रेमिट्यान्स प्रमुख आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।
हालसम्म सनराइज बैंकले १३९ वटा शाखा,९४ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा ए.टि.एम मार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दैजाने योजना रहेको जनाएको छ ।